धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) समानुपातिक सांसद इन्दिरा गिरी कारवाहिमा परेपछि नेपाली कांग्रेस र नाउपाले सभामुखको ध्यानाकर्षण गरेका छन । मंगलबार बिहान दुवै दलका नेताले सभामुख भीमबहादुर भण्डारीलाई भेटेर सुदूरपश्चिममा संसदीय व्यवस्था ख्याल गर्न ध्यानाकर्षण गराएका हुन ।

नाउपाकी समानुपातिक सांसद गिरीको कारबाही सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि दुई दलका नेताहरूले संयुक्त रुपमा सभामुख भण्डारीलाई भेटेका थिए ।

प्रदेश सभा सदस्यलाई संसदीय दलले मात्र कारबाही गर्न पाउने भए पनि सभामुख भण्डारीले पार्टीको सिफारिसका आधारमा कारबाही सदर गरेकाले लिखित रुपमा ध्यानाकर्षण गराइएको नाउपाका प्रदेश सभा सदस्य घनश्याम चौधरीले बताए । उनले नाउपा संसदीय दलले कुनै पनि सांसदलाई कारबाही नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

नाउपा संसदीय दलका नेता समेत रहेका घनश्याम चौधरीलाई जिम्मेवारी मुक्त गर्दै कैलाश चौधरीलाई जिम्मेवार दिएको पत्र समेत प्रदेश सभा सचिवालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पठाएकी छन् । तर घनश्यामले भने ७ जना सांसदले आफूलाई दलको नेता चयन गरेकाले अहिलेसम्म आफै कायम रहेको दाबी गरेका छन् ।
भेटका क्रममा कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले पनि संसदीय अभ्यासअनुसार अघि बढ्न सभामुख भण्डारीलाई सुझाव दिइएका थिए ।