अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारको चाबी पाएको नागरिक उन्मुक्ति पार्टी (नाउमा) मा भाँडभैलो मच्चिएको छ । नाउपा जता ढल्यो त्यतै सरकार बन्ने अवस्था रहेको बेला पार्टीभित्र भाँडभैलो मच्चिएको हो । चैत्र ४ गते नाउपाको सुदूरपश्चिम संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । प्रदेशमा स्वायत्त अभ्यास गर्ने भन्दै नाउपाका ७ मध्ये ५ सांसदले प्रदेश सरकारलाई समर्थन गर्ने बताएका थिए । तर, त्यसको १० दिन पछि बुधवार पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बहुमत केन्द्रीय सदस्य सहभागी भएको भनिएको उक्त बैठकले केन्द्रको गठबन्धन अनुसार प्रदेशमा गठबन्धन अघि बढाउने निर्णय गरेका छन् । यद्यपि उक्त बैठकमा हाल नाउपाबाट प्रदेश सरकारमा सहभागी भएका एक जना मन्त्री मात्रै सहभागी रहेको थिए । उनले पनि बैठकको निर्णयको आपत्ति जनाइसकेका छन् ।

नाउपाका सुदूरपश्चिममा हाल ७ सांसद रहेका छन् । ती मध्ये ५ जना मन्त्री रहेका छन् । बुधबारको बैठकमा सहभागी दामोदर पण्डितले बहुमत केन्द्रीय समितिका सदस्यको बहुमतबाट मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिएको बताएका छन् । उनले भने ‘केन्द्रमा जुन गठबन्धनलाई साथ दिएको छौँ, प्रदेशमा पनि त्यहीँ गठबन्धनलाई पनि लैजाने निर्णय भएको छ ।’

पार्टीका संरक्षक रेसम चौधरी अनुपस्थित रहेको बुधबारको बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरू मध्ये पूर्व राज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीको मात्रै सहभागिता रहेको थियो ।
बैठकमा सहभागी रहेका लक्ष्मण किशोर चौधरीले बैठकमा फरक मत राखेको बताएका छन् । उनले बैठकमा पार्टी संरक्षक र बहुसङ्ख्यक संस्थापक र सांसदहरूको उपस्थिति नरहेको बारेमा प्रश्न उठाएको बताए । बैठकमा सहभागी भए पनि बैठकको निर्णयमा हस्ताक्षर नगरेको उनको भनाइ छ ।
बैठकको निर्णय सार्वजनिक भएपछि नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले भने प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् । उनले पार्टीले समर्थन फिर्ता लिने निर्णय गरे पनि आफूहरूको समर्थन कायमै रहने बताए ।
हाल सुदूरपश्चिम सरकारको आर्थिक मामिला मन्त्री समेत रहेका चौधरीले बहुमत संसदीय दलका सदस्यहरूको समर्थन प्रदेश सरकारलाई कायमै रहेकाले पार्टीको बैठकले गरेको निर्णयले फरक नपार्ने बताए । सरकारबारे निर्णय गर्न टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठकको औचित्य समेत नभएको उनको भनाई छ ।
बुधवार पार्टीका संरक्षक रेसमलाल चौधरीसहित बहुसङ्ख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थितिविना निर्णय भएको भन्दै अर्को थरीले विरोध जनाएका छन् । पार्टी संरक्षक चौधरी हाल जापानमा रहेका छन् । उनी पनि हालका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारका पक्षमा अभिव्यक्ति दिँदै आएका छन् ।
सत्ताको चाबी बोकेको नाउपामा भाँडभैलो मच्चिरहँदा सुदूरपश्चिम सरकार के हुने भन्ने बारे झन् अन्यौलता बढेको छ । चैत्र ४ गते नाउपाको सुदूरपश्चिम संसदीय दलको बैठकको निर्णय पछि हालका मुख्यमन्त्री शाह नेतृत्वको सुदूरपश्चिम सरकार जोगिने आकलन गरिएका बेला नाउपाको बुधबारको निर्णयले नाउपाकै सांसद प्रस्ट रूपमा विभाजित भएपछि अन्यौलता बढेको हो । अब सुदूरपश्चिम सरकार के हुने बारे अझै केही दिन कुर्नुपर्ने देखिएको छ ।