
अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र पूर्व अध्यक्ष अशोक राज देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका बोहरा र देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरण मुछिएका दुवै जनालाई प्रहरीले खोजी गरिरहेको भए पनि उनीहरू एक महिना देखि फरार रहेका थिए ।
बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका दुवै जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसअघि नक्कली टिकट ठेली प्रकरणमा किटानी जाहेरीका आधारमा संघका महासचिव शंकर खड्का, सचिव दिलीप कुमार साउँद, कार्य समिति सदस्य बम बहादुर बोगटी र महोत्सवमा टिकट काट्ने जिम्मा पाएको स्ववीयु सभापति भुवन महरा २० दिन प्रहरी हिरासतमा बसेर हाजिरी जमानीमा रिहा भइसकेका छन् ।