काठमाण्डौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले निर्मला पन्तको घटनाको विषयमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका हुन् ।

बैठकमा गृहमन्त्री लामिछानेले भने, ‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी निर्मला पन्तको २०७५ साउन १० गते बलात्कार पछि हत्या भएको थियो । उनको शव हत्या भएको भोलिपल्ट बिहान भीमदत्त नगरपालिका–१८ र २ को सीमा नजिकैको उखुबारीमा फेला परेको थियो ।

निर्मला हत्या प्रकरणमा यसअघि गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यात नेतृत्वको समितिले घटनाबारे छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका थिए ।