अत्तरिया – सुदूरपश्चिम प्रदेशका सांसद प्रकाश बमले आफूहरू सरकार जोगाउने अभियानमा दगुर्नुपर्ने अवस्था आएको बताएका छन् । बुधवार अत्तरियामा आयोजित मालीका यातायातको पाँचौँ साधारण सभामा हतारमा देखिएका उनले अहिले पनि सरकारकै विषयमा नागरिक उन्मुक्ति सँग कुरा गर्न टीकापुर गइरहेको बताए ।
‘मुख्यमन्त्री सँगै हामी नागरिक उन्मुक्ति सँग कुरा गर्न टिकापुर जाँदै थियौ । यता पनि कार्यक्रममा आउनुपर्ने भएपछि बाटोमा रोकिएर आएको हु’ उनले भने ‘म सँगै अन्य ३ जना सांसद बाहिर कुर्नुभएको छ ।’
उनले सरकारका विषयमा टीकापुरमा नागरिक उन्मुक्ति सँग छलफल हुने बताए ।
केन्द्रमा नयाँ गठबन्धन बनेपछि हाल कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा छ । नागरिक उन्मुक्तिले ५ मन्त्री सहित सरकारमा सहभागिता जनाए पनि बाँकी रहेका २ जना अझै रुष्ट रहेको बताइन्छ ।
नागरिक उन्मुक्तिका ७ वटै सांसदको समर्थन सुनिश्चित गरेर राप्रपा र स्वतन्त्र सांसदलाई सहभागी गराई सरकार जोगाउने रणनीतिमा मुख्यमन्त्री कमल बहादुर शाह लागेका छन् ।