धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । मंगलबार धनगढीमा संचारकर्मीसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले रवि कांग्रेसतिर नलाग्दा फसाउन खोजिएको बताएका हुन ।
‘सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोज्ने ?’, ओलीले भने, ‘उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’
हाल सहकारीको अनियमितामा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विरोध गरिरहेको छ ।
ओलीले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छटपटी गरिरहे बताएका छन् । उनले कांग्रेसले सरकारबाट हट्नु परेको पीडाले छटपटिँदै–रुँदै के भन्छ त्यसलाई धेरै महत्व दिनु नहुने बताए ।
ओलीले भने, ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ता कै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ । संसद् खालि हुन्छ सबै खालि हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुन सक्ने बताए ।
ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडी नसरेको टिप्पणी गर्दै प्रचण्ड नै पूरै कार्यकाल प्रधानमन्त्री रहन सक्ने आशय व्यक्त गरेका हुन् ।