धनगढी – सरकार गठन, बिस्तार देखि प्रदेशका योजना निर्माणमा संघकै भर परिरहने परम्परा टुटेको छ । संघमा नवगठित पुष्पकमल दाहाल सरकारलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेशमा भने केन्द्रमा प्रतिपक्षमा रहेको दललाई समर्थन दिने निर्णय गरेर प्रदेशमा स्वायत्तताको अभ्यास गरेको हो ।

केन्द्रमा गठबन्धन सरकारमा सहभागि भएकाले प्रदेशमा पनि नागरिक उन्मुक्ति सरकारबाट बाहिरिने आकलन गरिएको थियो । आइतबार पार्टीको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारका मुख्ख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।

दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले संघमा नवगठित पुष्पकमल दाहाल सरकारलाई विश्वासको मत दिए पनि प्रदेशमा भने स्वायत्त अभ्यास गर्ने बताए । चौधरीले भने, ‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौँ । हामीले यहि सरकारलाई सघाउने निर्णय गरेका छौँ । प्रदेश पनि स्वायत्त हो । यसले नयाँ सन्देश पनि जान्छ ।’ केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश खोजिएको उनी बताउँछन् ।

यद्दपी बैठकमा नाउपाका सांसद कैलाश चौधरी र टीका थापा बैठकमा अनुपस्थित थिए । सांसद कैलाश चौधरीले विस्वासको मत नदिने बताउँदै आए पनि दलका नेता चौधरीले उनलाई पनि मन्त्री बनाएर सहमतिमा ल्याउने र दलको निर्णयबाहिर कुनै पनि सांसद नजाने बताए । उनले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए ।
कमलबहादुर शाह नेतृत्वको कांग्रेस सरकारले विश्वासको मत प्राप्त गर्न नागरिक उन्मुक्तिले समर्थन गर्दा पनि राप्रपा र स्वतन्त्र सांसदले समर्थन गर्नुपर्ने हुन्छ । नागरिक उन्मुक्तिले समर्थन गरे आफूहरू पनि समर्थन गर्ने उनीहरूले बताउँदै आएका छन् ।
नाउपाले मुख्यमन्त्रीलाई समर्थन कायमै रखेपनि उनीसँग कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना मात्र पुग्छन् । राप्रपाकि खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले समर्थन गरे मात्र शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन् । संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए ।