बैतडी – नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक चयन भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनले विकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । पाटन नगरपालिका ५ ओदाली घर भएका ४९ बर्षीय विकले दलित समुदायबाट एमाले बैतडीको नेतृत्व हाँक्ने पहिलो व्यक्तिको रुपमा समेत पहिचान बनाएका छन् । विक २०४६ सालदेखि नै कम्युनिष्ट पार्टीमा आवद्ध रहेका छन् ।

२०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भइसकेका विक एमालेको जिल्लाको कमिटि सदस्यका साथै अञ्चल कमिटि सदस्यको जिम्मेवारी समेत सम्हालीसकेका छन् । उनले तत्कालिन निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय कमिटिको अध्यक्षको रुपमा समेत काम गरिसकेका छन् । एमालेको जनवर्गीय संगठन मुक्ति समाज नेपालको केन्द्रीय सचिव समेत रहेका विक केपी ओली प्रधानमन्त्री भएको बेला राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीको अध्यक्ष समेत बनेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेकातर्फबाट पाटन नगरपालिकामा नगर प्रमुख उम्मेदवार बनेका विक त्यो बेला पराजित भएका थिए । मंगलबार बैतडीको पाटनमा सम्पन्न अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटि घोषणा गरेको छ । कमिटिको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउँद, उपसचिवमा हर्क धानुक र पार्वती भट्ट चयन भएका छन् । यस्तै सबै कलस्टर गरेर अन्य सदस्यहरु सर्वसम्मत चयन भएका उपाध्यक्ष भण्डारीले बताए ।

नवनिर्वाचित कमिटिलाई एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ ग्रहण गराएका छन । यस्तै अधिवेशनले सात सदस्यीय लेखा कमिटि पनि चयन गरेको छ । ललितसिंह ठगुन्नाको अध्यक्षतामा गठन भएको कमिटिको उपाध्यक्षमा दानसिंह कार्की, सचिवमा पदमराज अवस्थी लगायत अन्य सदस्यहरु रहेका छन् ।