नायल तालको अस्तित्व गुम्दै

अत्तरिया – नायल, बडो विचित्रको इतिहास सँग जोडिएको नाम । कैलालीको गोदावरी नगरपालिका– १२ मा रहेको नायल ताल धार्मिक पर्यटकीय क्षेत्र हो । प्राचीन कालमा गणपति राजा र देवता बीचको लडाइको पुरातत्त्वका रूपमा नायल ताललाई लिने गरिएको छ । राजाले मासु बिना खाना नै नखाने र जंगलका जनावरहरू सकिए पश्चात् सेनाहरूले मानिस काटेर भए पनि राजाको भोक मेटाउने गरेको इतिहास नायल क्षेत्रका जानकार चन्द्र बहादुर थापाले बताए ।

maya metro hospital

उनका अनुसार मानिसको मासु खान पल्केको राजालाई दैनिक जसो मानिस मारेर दिँदा गाउँ नै सखाप हुने अवस्था आएपछि गाउँका दुई जना महिलाले देवतालाई बोलाएको र देवता र राक्षस बनिसकेको राजाको लडाई भएको स्थान नायल ताल हो । राक्षस बनिसकेको राजालाई मार्न घण्टेश्वर देवतालाई बोलार्ईएको उनले बताए । नर अर्थात् मानिसको रक्षाका लागि देवतासमेत राजासँग लडेको र उक्त लडाइँमा मानिस र देवताको विजय भएको उनको भनाई छ । त्यति मात्रै नभई नायल तालको अर्को विचित्रको इतिहास रहेको समेत उनले बताए । उनका अनुसार नायल ताल भएर आवत जावत गर्ने बटुवाहरूका लागि तालबाट खिरको भाँडो बाहिर आउने गर्दथ्यो । तर एक दिन तालमा भिखारीले खाएको जुठो फालेपछि भने खिर आउन छाडेको उनले बताए । यस्तो विचित्र इतिहास भएको नायल ताल हाल संरक्षण अभावमा ओझेलमा छ ।

चारैतिर डाडाँकाडाले घेरेको बडो आकर्षकका रूपमा देखिने नायल तालमा सरकारको ध्यान पुग्न सकेको छैन । प्राकृतिक सौन्दर्यताले भरिभराउ भए पनि संरक्षण र संवर्द्धन नहुँदा तालको अस्तित्व गुम्दै गएको छ । बर्खामा डाडाँहरुबाट आउने भेलले बर्सेनि ताललाई पुर्दै लगिरहेको छ । त्यति मात्रै नभई बर्खाको भेलका कारण तालमा पानीको बहाव बढी हुँदा तालको बाँध समेत भत्किने गरेको छ । जसका कारण तालमा भएको पानी पनि कम हुँदै जान थालेको छ । उसो त वडाका प्रतिनिधिहरूले तालको संरक्षणका लागि स्थानीयहरूसँग मिलेर आफू सक्दो काम थालिरहेकै छन् । वडामार्फत आएका बजेट र केही पालिका मार्फतका बजेटबाट तालको संरक्षणका लागि पर्याप्त नहुँदा तालको अवस्था ज्युँ का त्युँ छ ।

attariya hospital

स्थानीय थान बहादुर बोहराले नायल तालको संरक्षणका लागि आरसिसी सहितको बाँधको आवश्यकता रहेको बताए । उनले बर्खाको भेलको निकासका लागि तालको चारैतिर नालाहरू बनाउनुपर्ने बताए । ताललाई व्यवस्थित बनाउन र तालको संरक्षण गर्न तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । स्थानीय पदम बहादुर खत्रीले नायल तालको संरक्षणका लागि बारम्बार सरकारलाई झकझक्याउँदा पनि सुनुवाइ नभएको बताए । उनले वडा तथा नगरबाट भने केही सहयोग भएको बताए । ‘हालसम्म चानचुन पटक पटक गरेर सवा करोड जति नायल तालका लागि आई सकेको छ’ उनले भने ‘त्यो रकमले यहाँ नायल ताल छ भन्ने देखाउन मात्रै सकिएको छ ।’ उनले नायल तालको विकास र संरक्षणका लागि ठुलो योजना आवश्यक भएको बताए ।

स्थानीय हरिदत्त जोशीले विकट क्षेत्र नभए पनि राज्यले विकट बनाइदिँदा नायलको प्रचार प्रसार हुन नसकेको बताए । पर्यटकहरू आकर्षित गर्न सक्ने ठाउँ भए पनि राज्यले उपेक्षा गरेको उनले बताए । उनले राज्यको उपेक्षाकै कारण हाल नायलको अस्तित्व मेटिँदै गइरहेको बताए । नायल ताललाई शक्तिपिठका रूपमा पनि लिने गरिएको उनको भनाई छ । ‘यो ताल मात्रै हैन शक्ति पीठ पनि हो’ उनले भने ‘यहाँ घण्टेश्वरको थापना, सिद्धको थापना, भगवतीका थापना तथा डाँडाहरुमा नवदुर्गाहरूको सम्पूर्ण शक्तिपिठहरुका थापना पनि छन् ।’ उनले उक्त क्षेत्रमा कैलाली, कञ्चनपुर, डडेल्धुरा तथा डोटीबाट श्रद्धालु भक्तजनहरू विभिन्न पर्वहरूमा आएर दर्शन गर्ने गरेको बताए । यहाँ दर्शन गरे मनोकांक्षा पुरा हुने दृढ विश्वास रही आएको उनले बताए ।

उक्त ताल कैलाली, कञ्चनपुर र डडेलधुराको सीमा क्षेत्रमा रहेको छ । झन्डै एक किलोमिटर लम्बाइ भएको ताल ३ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्त्वपूर्ण मानिन्छ । विगतमा सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रूपमा परिचित गाउँमा रहेको नायल ताल अहिले संरक्षणको अभावमा ओझेलमा पर्दै आएको छ ।

ताल बचाउन जरुरी छ : वडाध्यक्ष

वडाध्यक्ष भीम बहादुर खड्काले तालको संरक्षण गर्न जरुरी रहेको बताए । उनले बर्खाको भेलले तालको अस्तित्व खतम हुन सक्ने भएकाले ताल बचाउन आवश्यक रहेको बताए । उनले नायल तालमा प्रदेश स्तरमा मन्त्री, मुख्यमन्त्रीहरूको उपस्थिति भैसकेपनि बजेट भने पर्न नसकेको बताए । ‘प्रदेशका मन्त्री, मुख्यमन्त्रीहरू यहाँ आएर तालको अवलोकन गरेर गइसक्नुभएको छ’ उनले भने ‘तर हालसम्म पनि प्रदेशबाट अलिकति पनि बजेट नायल तालको लागि पर्न सकेको छैन ।’

उनले प्रदेशकै उच्च ओहदाको व्यक्ति आए पनि लगानी भने शून्य रहेको बताए । उनले नायलको संरक्षणका लागि केन्द्रको पर्यटन मन्त्रालय मार्फत नायलको सरसफाइ र तटबन्धका लागि केही मात्रामा सहयोग पाइएको बताए । उनले नायलको विकासका लागि आफूहरूले नगरसँगको समन्वयमा डिपिआर तयार गरिसकेकाले त्यसको आधारमा जाँदा अझै उपयुक्त हुने बताए । नायलको प्रचार प्रसार गरी यहाँको विकास गर्न सके नायल क्षेत्रका स्थानीयहरू स्वरोजगार बन्न सक्ने बताए । उनले नायलको संरक्षण र संवर्द्धनका लागि वडा र नगरको बजेट अपर्याप्त हुने भएकाले तालसम्म पुग्ने र पर्यटकहरूलाई आकर्षित गर्न सकिने खालको वातावरण सरकारले सृजना गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.