
अत्तरिया – बुधवार विस्तार गरिएको संघीय सरकारमा सुदूरपश्चिमबाट २ मन्त्री समावेश छन् । बैतडीबाट निर्वाचित नेकपा एमालेका नेता दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नेका छन् भने बझाङबाट निर्वाचित एकीकृत समाजवादी पार्टीका नेता भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेका छन् ।


ओली निकट भण्डारी यसअघि अर्थ राज्य मन्त्री र उद्योग मन्त्री भइसकेका छन् । २०३० साल कार्तिक २० गते पाटन नगरपालिका –६ मा जन्मेका भण्डारीले २०४६ सालदेखि नै राजनीति सुरु गरेका थिए । २०४८ सालमा अनेरास्ववियु बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने । त्यसपछि भण्डारी २०५४ सालमा जिल्ला कमिटी उपसचिव भए । २०५६ देखि २०६४ सम्म नेकपा एमाले बैतडीको सचिव रहेका भण्डारी पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि एमाले बैतडीको अध्यक्ष बनेका थिए ।

सक्रिय राजनीतिमा होमिएका भण्डारी लगातार चुनाव जित्दै आएका छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट चुनाव जितेका भण्डारीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि जित हात पारेका थिए । २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई पराजित गर्दै भण्डारी विजयी भएका थिए ।
मन्त्री बनेका जोशी १२ बर्सपछि मन्त्री बन्न सफल भएका छन् । यसअघि २०६८ मा झलनाथ खनालको नेतृत्वको सरकारमा उनी वन तथा भू–संरक्षण मन्त्री बनेका थिए । छविसपाथिभेरा गाउँपालिकाका स्थायी बासी जोशी २०३६ सालमा नेपालगन्जको शिक्षा क्याम्पसमा एमालेको अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका थिए । २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडे पनि उनी पराजित भएका थिए ।
२०५१ सालमा भएको मध्यावती निर्वाचनमा भने उनी बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । २०६४ सालमा फेरि संविधानसभा सदस्यमा निर्वाचित भएका झलनाथ खनाल नेतृत्वको सरकारमा ४ महिना मात्रै मन्त्री बनेका थिए ।