अत्तरिया – बाजुरामा बैशाख १५ गते हुने प्रदेश सभा निर्वाचनको लागि फागुन २९ गते देखि मतदाता नामावली अध्यावधिक गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले बुधबार एक सूचना जारी गर्दै बाजुरा –१ को प्रदेश सभा निर्वाचनका लागि फागुन २९ देखि चैत्र ५ गते सम्म अध्यावधिकको समय तोकिएको जनाएको हो ।

मतदाता नामावली अध्यावधिकका लागि निर्वाचन कार्यालय वा वडा कार्यालयबाटै अनलाइन फारम भर्न सकिने जनाइएको छ ।

अध्यावधिका लागि तोकिएको समयमा मतदाता नामावलीमा त्रुटि सच्याउन, झुटा विवरणको उजुरी दिन, दुई ठाउँमा नाम भए एक ठाउँमा कायम गर्न र मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम समावेश भए हटाउन सकिने छ ।
त्यसअघि निर्वाचन आयोगले फागुन २९ गते मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

आयोगले चैत्र ६ गतेदेखि ८ गते सम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने समय तोकेको छ । आयोगले चैत्र २२ गते अन्तिम नामावली प्रकाशन गर्ने छ ।