…अनि म एकैछिनमा फेरि ‘सिङ्गल’ भएँ !

-नरेश कुमार जोशी
पुस १३ गतेको बिहान घमाइलो थियो । रोजगार अनुमती प्रणाली ‘इपिएस’ मा सहभागी गराउन माग गर्दै युवाहरु प्रदर्शन गरिरहेका थिए । म अफिस पुग्नुपर्ने समय थियो-दिउँसो दुई बजे । अफिसको लागि डेराबाट निस्किनुपूर्व नै बालकुमारीमा स्थिति असामान्य छ भन्ने जानकारी पाइसकेको थिएँ । त्यो क्षेत्रको यातायात ठप्प जस्तै भयो । हिँडेर अफिस जान टाढा हुने भएकाले काममा आउन नसकिने कुरा जानकारी गराइसकेको थिएँ । बाँकी दिन पनि डेरातिरै बिताउनुपर्ने भयो ।

maya metro hospital

कुनैबेला सडकमा निस्केर बालकुमारीको दृश्य हेर्थे कुनै बेला डेराभित्र इन्टरनेट । सुरक्षाले टेक्स्ट गरी, ‘४ बजेसम्म स्थिति सामान्य बन्ला कि ?’ अनुमानमै रिप्लाइ गरेँ, ‘मेबी ।’ सुरक्षा उनै हुन् जोसँग मेरो दुई वर्ष अघि नै ब्रेकअप भइसकेको थियो । ड्युटी आवर एउटै र अफिस नजिकै भएर होला काठमाडौँका गल्लिहरुमा भेटिरहन्छिन् सुरक्षा ।

एकअर्कालाई समय दिन नसकेर छुट्टिने निधो गरेका थियौँ उबेला हामिले । सामाजिक सञ्जालमा कुराकानी बढ्दै गइरहेको थियो । फेरि प्रेम गर्न थालिसकेछौँ एकअर्कालाई । सिनेमा हलमा चल्ने नयाँ फिल्म र समाचारका शिर्षक हाम्रो कुराकानीका विषय हुन थाले । फेसबूक, मेसेन्जर र फोनमा घण्टौँ कुरा गर्न थालेका थियौँ हामी ।

attariya hospital

त्यो दिन स्थिति सामान्य बन्यो भने मसँग भेट्ने मन गरी । मैले पनि ‘हुन्छ’ भनिदिएँ । सुरक्षासँग पहिलो भेट हुने भयो । मन आत्तिएको थियो । कुराकानीको लामो सिलसिला भए पनि पहिलोचोटि भेट्दै थिएँ । दाह्री बढेको थियो, काटूँ कि नकाटूँ, अलमलिएँ । ह्या काटिन । लुगा कस्तो लाउँदा ठिक होला ? जिन्स र टिसर्ट जिन्दावाद ।

सवा ४ बज्यो । सुरक्षाको फोन आयो । ‘म ११ मिनेटमा तिमी बस्ने चोक नजिकै पुग्छु । त्यहाँ आइराख्नु है ।’ ‘अनि कता जाने ?’ मैले सोधेँ । बालकुमारी क्षेत्रका रेस्टुरेन्टहरू प्रायः बन्द थिए । अरू डेटिङ स्पटको बारेमा थाहा थिएन । कोठामै जाऊँ भन्न पनि आँट आएन । ‘मलाई’नि थाहा छैन ।’ ‘बाटोमा आउञ्जेल सोच्दै गर न,’ मैले जिम्मा दिएँ । निकोनको एउटा क्यामेरा बोकेर उसले भनेको चोक पुगेँ ।

मेरो मनपर्ने हरियो रंगको स्कुटर मेरो सामुन्ने रोकियो । रातो रंगको टिसर्ट लगाएकी स्कुटरवालीले जिन्सको ज्याकेटबाट मोबाइल निकालेर नम्बर डायल गरी । एकैछिनमा मेरो खल्तीमा रहेको मोबाइल थर्कियो । मैले थाहा पाएँ, स्कुटरवाली सुन्दरी सुरक्षा थिई । ‘सुरक्षा’ मैले ठूलै स्वरमा भने । ऊ हाँसी अनि हेल्मेटको भाइजर माथि सार्दै हात मिलाइ । ‘तिमी त मैले सोचेभन्दा राम्री र योङ रैछौ ।’ आँखा झिम्क्याउँदै भने । अनुहार रातो पार्दै उसले स्कुटरमा चढ्ने इसारा गरी । रहर थियो कुनै स्कुटरवालीको स्कुटर पछाडि बसेर उसँगै टाँसिएर सहर घुम्ने, पूरा हुँदै थियो ।

उसले नै कुराको सिलसिला सुरु गरी । ‘हिजो मात्र किनेकी,’ स्कुटर अगाडि बढाउँदै थपी, ‘अहिलेसम्म कोही पछाडि बसेको छैन । ’यु आर द फस्र्ट ।’ म मख्ख परेँ । बाइक र स्कुटरको अल्पज्ञानी मैले थपेँ, ‘फस्र्ट सर्भिसिङभन्दा अगाडि डबल लोड हाल्नु हुँदैन भन्छन् त ?’ ‘यु आर नट कन्सिडर्ड एज डबल लोड ।’ ‘किन ? मेरो वेट ६० किलो छ,’ मैले जिज्ञासा राखे । हाँसेर कुरा टारी । हामी जाने कुनै गन्तव्य थिएन । ऊ स्कुटर हाँक्दै थिई । जहाँ त पुगिएला, मलाई चिन्ता थिएन ।

सहरभन्दा अलिकति बाहिर एउटा शान्त ठाउँमा ऊ रोकिई । म ओर्लें । उसले भनेजस्तै भयो । फोन र अनलाइनमा लामो कुरा गर्ने हामीलाई भेटेर कुरा गर्नै आएन । एकअर्कालाइ हेरेर नै एक घन्टा बितेछ । चिसो बढ्दै थियो, मैले ‘जाऊँ’ भने । ऊ पार्किङबाट स्कुटर निकाल्न लागी । मैले त्यहीबेला जूनको फोटो खिचेँ ।

प्रेम झाँगिदै गयो । म फिल्ड रिपोर्टिङ्को लागि उपत्यका बाहिर गइरहेको हुन्छु । पहिले काठमाडौंबाहिर जान फुरुङ्ग पर्ने म अब बाहिर जाँदा कहिले काठमाडौं फर्किन पाइएला भन्ने भइसकेको थिएँ । हरेक पटक म बाहिर जानुअघि उसले मलाई स्कुटर चढाएर मन्दिर लैजान्थी र यात्रा सुरु गर्ने ठाउँसम्म छोडिदिन्थी । ‘मिस यु’ र ‘कहिले फर्किने ? चाँडै फर्के हुन्न ?’ भन्ने टेक्स्ट गएदेखि नफर्केसम्म पठाइरहन्थी । मलाई पनि कहिले फर्किऊँ र उसलाई भेटूँ भन्ने लागिरहन्थ्यो ।

जहाँबाट फर्किंदा पनि उसका लागि केही न केही बोकेरै फर्किन्थेँ । उसलाई उसको मन पर्ने खानेकुरा पकाएर खुवाउने मेरो रहर हुन्थ्यो । मैले पकाउँदै गर्दा ऊ भन्थी, ‘मलाई जिन्दगीभर सुख हुने भयो । तैपनि, मलाई पनि सिकाउनु है ।’
फेरी केही समयको अफेयरपछि ऊ हराएजस्तै भई । न फोन उठ्ने, न म्यासेज रिप्लाई गर्ने, न त अनलाइनमै बोल्ने । यो बीचमा उसलाई मन पर्ने मेरो किचेनको कप पनि फुटेको थियो । म बेचैन भएको थिएँ । एक साताजति अघि भनेकी थिई, ‘म खुसी छैन अचेल, थाहा छैन किन, तर बिस्तारै ठिक हुन्छु होला ।’ अनि दुईदिन अघिमात्र टेक्स्ट गरेर त्यो साँझ मसँग भेट्न चाहेको भनी । म पनि उसँग भेटेर कुरा गर्न चाहन्थे । मलाई साँझको प्रतीक्षा थियो ।

हामी प्रायः भेट्ने गरेको मदिराशालामा हामी भेट्यौँ । उसलाई देख्दा कोही नयाँ मान्छेलाई देखेजस्तो लागिरहेको थियो । हामी सधैँ बस्ने गरेको ठाउँ खाली थिएन । अर्को सिटमा बस्नुप¥यो । सुरक्षा मेरो सामुन्ने थिई । मैले सोधेँ, ‘तिमी किन हराएको यत्रो दिन ? किन मलाई यसरी ‘इग्नोर’ गरेको ?’ ‘यो एक साता मैले हाम्रो बारेमा धेरै सोचेँ । हाम्रो सम्बन्ध, भविष्य र वर्तमान पनि,’ एकछिनपछि बोली । ‘अनि ?’ मैले हतार गरेर सोधेँ । लामो सास फेर्दै उसले भनी, ‘अनि मैले तिमीसँगको सम्बन्धबाट छुट्टिने निर्णय गरेँ । सरी, मैले तिमीलाई चोट पु¥याएँ । तर, यो तिम्रो खुसीका लागि पनि हो ।’

मेरो ओठमुख सुक्यो । एकछिन बोल्नै सकिनँ । आफूलाई बलियो बनाउँदै यकिन गर्न सोधेँ, ‘सिरियस्ली भनेको हो ?’ ‘हो ।’ रिस उठ्यो । ममाथि ठूलो धोका थियो त्यो । आफूलाई विकल्पमा राख्नेका लागि किन मैले मरिमेट्ने भनेर चित्त बुझाउँदै भनेँ, ‘ठीक छ । यही नै तिम्रो खुसी हो भने मेरो कुनै आपत्ति छैन । अहिलेसम्मको साथका लागि धन्यवाद ।’
अन्तिम ग्लास वाइन सकाएर जाँदाजाँदै उसले मैले किनिदिएको हरियो चुरा सुम्सुम्याउँदै भनेकी थिई, ‘म तिमीसँग भन्दा धेरै खुसी नायकसँग हुनेछु । तर, तिमीलाई पनि बिर्सनेछैन ।’

मैले भने, ‘तिमी मलाई सम्झ या बिर्स, यसले कुनै अर्थ राख्दैन ।’ अनी म एकैछिनमा ‘सिङ्गल’ भएँ…।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.