सुर्खेत –भारतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने गाउँपालिका –७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उहाँकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, उहाँका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार छन् ।

रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो । घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट्र राज्यको बीच भागमा पर्छ ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गएराति उनीहरुको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका –७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए। वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
‘‘रतनको परिवार सबै एउटै बाइकमा सवार हुनुहुन्थ्यो भन्ने कुरा मैले परिवारबाट बुझेँ’ धमलाले भने ‘अस्पताल र कोठा नजिक पनि भएर होला तीन जना ठूलो र साना बालक सबै एकै ठाउँमा बसेको भन्ने बुझियो ।’ मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा त्यहाँ रहेका थिए ।



















