खाेज्नुहाेस

इजरायलमा अस्ताए विद्यार्थीका सपना

Image
हमास विद्रोहीको आक्रमणमा परी आगो लागेको कार । तस्बिर : एपी/रासस

अत्तरिया – कृषिमा आफ्नो भविष्य खोज्दै सुदूरपश्चिम विश्वविद्यालय स्नातक तहमा अध्ययनरत विद्यार्थीमध्ये १० जनाको सपना अस्ताउका छन । कैलालीको टीकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चर कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरू इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा छनोट भएर जान पाउँदा निकै उत्साहित भएका थिए । विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने सर्त राखिएको थियो । तर, स्नातक तहको उपाधि संगै कमाई पनि हुने सपना देखेर इजराइन पुगेका विद्यार्थीले ज्यानै गुमाउनु परेको छ ।

प्यालेस्टायनी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना विद्यार्थीको ज्यान गइसकेको छ । १ जना सम्पर्क विहीन छन भने ४ जना घाइते छन । विश्वविद्यालयले एक महिना अघि मात्रै स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत ४९ जना विद्यार्थीहरूलाई इजरायल पठाएको थियो । उनीहरुलाई ६ वटा समूहमा विभाजन गरेर इजरायलका अलग–अलग कृषि फार्ममा पठाइएको थियो । उनीहरु मध्ये इजरायलको सेवती नेगेभमा कृषि फार्ममा कार्यरत १७ विद्यार्थी शनिबार प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परेका थिए । ति मध्ये २ जना सकुशल छन ।

attariya hospital

मारिनेमा ७ जना सुदूरपश्चिमकै रहेका छन । दुतावासका अनुसार मारिनेमा कैलालीको घोडाघोडी नगरपालिकाका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी नगरपालिका–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् ।

मारिएका बझाङका नेपाली कृषिमा असाध्यै रूचि भएकाले बिएस्सी एजी गर्न सुदूरपश्चिम विश्वविद्यलयमा भर्ना भएका थिए । वडाध्यक्ष सर्जनबहादुर थापाका अनुसार एसएलसीपछि उनी पढ्न चितवन गएका थिए । २०७३ मा प्रेरणा साइन्स कलेजबाट उनले प्लस टु पास गरेका थिए । त्यसपछि उनी सुदूरपश्चिम विश्वविद्यालयमा कृषि तथा विज्ञान संकायमा अध्ययन गर्थे ।

navjiwan hospital

दार्चुलाका लोकेन्द्रसिंह धामीले १२ कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका थिए । उनले टीकापुरबाट बिएस्सी एजीसम्मको पढाइ पुरा भएपछि थप अध्ययनका लागि सुदूरपश्चिम विश्वविद्यालय गएका थिए । त्यहीँबाट एक महिनाअघि इजरायल गएका हुन् । उनका बुवाले अहिले पनि खेती किसानी गरेर घरको गुजारा चलाई रहेका छन । उनले छोरालाई कृषि वैज्ञानिक बनाउने धोको भएको बताए ।

दार्चुलाका दीपेशराज बिष्ट घरका जेठा छोरा थिए । उनका बुवा शिक्षक थिए । तर दीपेशराज सानै हुँदा बुवाको निधन भयो, आमा अहिले राहत शिक्षक छन् । उनी पढाइमा राम्रो भएकाले परिवारले पढ्न महेन्द्रनगर पठाएका थिए । उनी पनि कृषिमा भविष्य खोज्दै पढाइको शिलशिलामा इजरायल पुगेका थिए ।

कैलालीका आशिष चौधरीको घरमा ताला लागेको छ । इजरायलमा भएको हमलामा परेर आशिषको मृत्यु भएको खबर आएको छ । उनका आमाबुवा भारतको बैंगलुरूमा रहेका छन् । आशिषका बुबाले जोशीपुर बजारमा पसल चलाउन केही वर्षअघि १० लाख जति ऋण लिएका थिए । छोरालाई बिएस्सी एजी पढाउन खर्च लागेपछि पसलको ऋण तिर्न बुबाले सकेनन । छोरा टीकापुरमा डेरा गरेर पढ्दै गर्दा आशिषका आमाबुबा पसल बेचेर घरमा ताला लगाई भारतको बैंग्लुरू गएका थिए ।
कैलालीकै नारायणप्रसाद न्यौपानेको परिवार कालिकोटको कोटबाडाबाट बसाइ सरेर कैलाली आएको थियो । उनी एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय पढ्न कञ्चनपुरको महेन्द्रनगर गएका थिए । महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर लिएर कक्षा १२ पास भएका नारायणले टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भएको थियो । क्याम्पसले विदेश पठाउने खबर नाराणले नै परिवारलाई सुनाएका थिए ।

डोटीका पदम थापा पनि सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिनाको कोर्सका लागि इजरायल पुगेका थिए । बिएस्सी एजी स्नातकको परीक्षा दिएर कोर्सका लागि कलेज नै उनीहरूलाई त्यहाँ पठाएको पदमका दाइ भीम थापाले जानकारी दिए ।

‘परीक्षाको नतिजा आउन ११ महिना लाग्ने भएकाले त्यो अवधिमा सिक्नका लागि कलेजले पठाएको थियो,’ उनले भने, ‘पदम नेपालमै सरकारी जागिर गर्न चाहन्थ्यो ।’ पदम टीकाराम थापा र कैमती थापाका कान्छा छोरा हुन् । उनका दुई दाजु र एक दिदी छन्। जेठो दाजु दानबहादुर गाउँपालिकामा इन्जिनियर छन् । डोटीकै राजन फुलारा गाउँकै सरस्वती माध्यमिक विद्यालयमा एसएलसीसम्म अध्ययन गरेका हुन् । मेधावी छात्र भएकाले कृषिमा रूची राखे । उनी टीकापुरको कृषि क्याम्पसमा अध्ययन गरिरहेका थिए ।

विदेशी भूमिमा विद्यार्थी हताहत भएको खबरले अहिले सुदूरपश्चिममा सन्नाटा छाएको छ । मारिएका आशिषका बाजे कन्हैयालाल चौधरीले सानैदेखि काखमा हुर्काएको नातिको मृत्युको खवरले बुढेसकालको साहारा ढलेको बताए । छोराको मृत्युको खबरले विक्षिप्त बनेका कन्हैयालालका छोरी–ज्वाइँ बैंङ्लोरमा रहेका छन ।
आक्रमणपछि सम्पर्क विहीन बनेका कञ्चनपुरको भीमदत्त नगरपालिका – ३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । शनिबार देखि छोरा सम्पर्कमा नआएपछि आमा पदमा भक्कानिरहेकी छिन । उनले चाँडोभन्दा चाँडो छोराको खोजी गरिदिन आग्रह गरेकी छिन ।