बाँकेको नेपालगञ्जमा हिजोदेखि लगाइएको कर्फ्यू क्रमशः खुकुलो बनाइने भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो बसेको सर्वपक्षीय बैठकले क्रमशः खुकुलो बनाउँदै पूर्णरूपमा हटाउने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।

राजनीतिक दलहरू, सुरक्षानिकाय, स्थानीय बासिन्दा‚ सरोकारवालाले चार दिनदेखि बढेको तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने सहमति जुटाएका हुन्।

सहमतिआनुसार अब कर्फ्यू खुकुलो बनाउँदै लगी पूर्ण रूपमा हटाउन जिल्ला सुरक्षासमितिलाई अनुरोध गरिनेछ। बैठकले सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
सामाजिक सद्भाव र्याली समेत आयोजना गरिने निर्णय भएको छ। तीन निर्णय गरेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न र सद्भाव भड्किन नदिने प्रतिबद्धता गर्दै सबै क्षेत्र, तह र तप्काको सहभागितामा सद्भाव आयोजना र्याली गरिने भनेको छ।
बैठकमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेय, गृहसचिव लालबाबु कबारी, प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा, प्रदेश सांसद कृष्णा केसी, पूर्व शहरी विकासमन्त्री इश्तियाक राई, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डिआइजी उमेशराज जोशी, सशस्त्र प्रहरी डिआइजी अभिकुमार खत्री सहभागी थिए।
साथै जिल्लास्थित सबै सुरक्षानिकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्था, विभिन्न धार्मिक गुरुहरू तथा मुस्लिम अगुवा लगायतको उपस्थितिमा छलफल भएको थियो।