रोकिएको वडा कार्यालय भवन निर्माणको काम सुचारु गर्न जोड

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ को वडा कार्यालयको प्रशासकीय भवन निर्माणको काम सुचारु गर्न स्थानीय राजनीतिक दलका नेताहरूले जोड दिएका छन् । नगरमा क्रियाशील विभिन्न राजनीतिक दलका नेताहरूले आइतबार गोदावरी नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कुनै पनि बहानामा भवन निर्माणको काम रोकिन नहुने बताउँदै काम सुचारु गर्न जोड दिएका हुन् ।

maya metro hospital

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य नन्द राज भट्टले अतिक्रमण गरिएको जमिन स्थानीयले नै जोगाएर वन बनाएकाले हाल खाली रहेको ठाउँमा वडा कार्यालय भवन बनाउन खोज्दा रोक्नु गलत भएको बताए । उनले भवन निर्माणको कामलाई कुनै स्वार्थ सँग जोड्न नहुने बताए ।

‘वडा कार्यालय भवन सबै जनताको सुविधाका लागि निर्माण हुने भएकाले यसलाई कसैको स्वार्थ सँग जोड्नु हुँदैन’ उनले भने ‘राष्ट्रिय जनमोर्चा पार्टी वडा कार्यालय भवन बनाउनको लागि कुनकुन निकायमा जानुपर्छ गएर समन्वय गर्न तयार छ ।’ उनले गोदावरी नयाँ नगरपालिका भएकाले यहाँ धेरै भवन बनाउन बाँकी रहेकाले यस्ता काममा अवरोध गर्न नहुने बताए ।

attariya hospital

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेश ‘ख’ सचिव विराज बिष्टले खाली जग्गामा भवन बन्न लागेकोले विरोध गर्न आवश्यक नभएको बताए । ‘यो वडा कार्यालय कसै दल, व्यक्तिको होइन । यो सबैलाई उपयोग हुने भवन भएकाले यसमा विवाद गर्न आवश्यक छैन’ उनले भने ‘यो सरकारी कार्यालय बन्न लागेकाले यसलाई सरकारले रोक्नु हुँदैन । स्थानीयले पायक पर्ने यसै ठाउँलाई रोजेकाले राप्रपाको पनि यसमा सहमति छ ।’ उनले रोकिएको भवन निर्माणको काम चाडो सञ्चालन गरिनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मेघ राज भट्टले वडाको भवन निर्माणमा किन अवरोध गरियो भनेर आफूले बुझ्न नसकेको बताए । जनताको आवश्यकताका लागि राज्यले बनाउन लागेको भवनमा अवरोध गरिनु गलत भएको उनको तर्क थियो ।

‘हामीले गोदावरीमा अझै धेरै भौतिक पूर्वाधार बनाउन आवश्यक छ । कभर्ड हल, रङ्गशाला, खुलामञ्च बनाउनु पर्ने छ । यसरी अवरोध गर्दै गएमा गोदावरीको विकास गर्न नै सम्भव छैन’ उनले भने ‘यसरी नै अवरोध भएको भए यहाँ क्याम्पस पनि बन्ने थिएन । विद्यालय पनि बन्ने थिएनन् ।’

नेकपा एमालेबाट निर्वाचित पूर्व वडा सदस्य बल बहादुर चौधरीले सर्वदलीय बैठकबाट भवन बनाउने निर्णय भएको बताए । ‘२०७८ सालमा नै सर्वदलीय बैठकबाट भवन बनाउने निर्णय भएको थियो । बैठकमा पूर्व मन्त्री कृष्ण सुवेदी सहितको सहभागिता रहेको थियो’ उनले भने ‘सोही निर्णयलाई हालका वडा अध्यक्षले निरन्तरता दिनु भएको हो । सर्वदलीय बैठकको समयमा वडामा भएका विभिन्न ठाउँको बारेमा छलफल भएपनि हाल भवन निर्माण स्थल छनोट भएको हो ।’

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकायाले खाली जमिनमा वनलाई असर नपर्ने गरी भवन निर्माणको काम सुरु गरिएको बताए । ‘वन अतिक्रमण भएको होइन की, अतिक्रमण हुनबाट जोगाइएको हो । अतिक्रमण भएको जमिनलाई वृक्षारोपण गरेर यसै वडाका मानिसले जोगाएका हुन । हाल भवन बनाउँदा १ बिरुवा काटिएको छैन’ उनले भने ‘हाल नेपाल सरकारकै भवन बनाउँदा रोकिनु दुःखद कुरा हो ।’

उनले स्थानीय जनताले नै भवन बनाउनको लागि ठाउँ देखाएपछि काम गर्न सुरु गरिएको बताए । ‘यस क्षेत्रका जनताले ठाउँ देखाएपछि भवन बनाउन सुरु गरिएको हो । यसमा राजनीति आग्रह पूर्वाग्रह लिनु हुँदैन’ उनले भने ‘कसैले राजनीतिकरण गर्न खोजे नेपाली कांग्रेस यस क्षेत्रका जनताको पक्षमा बोल्ने छ ।’

बसन्तपुर महिला सामुदायिक वनकी अध्यक्ष नन्दा कार्की वडा कार्यालय भवन बनाउनको लागि आफूहरूले खाली जग्गा दिएको बताइन् । ‘वन हामीले नै बनाएका हौ । वनमा हाल खाली भएको ठाउँमा भवन बनाउनको लागि हामीले दिएका हौ’ उनले भनिन् ‘यसमा निजी रुपमा कसैले पनि अतिक्रमण गरेका छैनन् । सबै जनताको लागि आवश्यक परेको ठाउँ भएकाले हामीले भवन बनाउन दिएका छौ । यसको विरोध गर्नुको कुनै कारण छैन ।’

वडा अध्यक्ष हेम प्रकाश मल्लले सर्वदलीय बैठकबाट खाली भएको ठाउँमा वनको भवन बनाउन लागिएको बताए । ‘यो बस्ती भएको ठाउँ हो । बस्ती हटाएर यहाँ वन संरक्षण गरिएको हो । जङ्गल निर्माण गर्दै गर्दा अहिले भवन निर्माण गरिएको ठाउँ खेलकुदका लागि भनेर खाली छोडिएको थियो’ उनले भने ‘पछि २०७८ सालमा वडा कार्यालय भवन बनाउने भनेर सर्वदलीय बैठकबाट निर्णय गरेर सामुदायिक वन सँग अनुरोध गरेका थियौ । वडामा सबैलाई पायक पर्ने ठाउँ भएकाले वनले पनि सहमति जनाएपछि वडा कार्यालय भवन निर्माणको काम सुरु गरेका हौ ।’

नगरप्रमुख विरेन्द्र भट्टले रोकिएको भवन निर्माणका लागि मुख्यमन्त्री, वनमन्त्री, भौतिक पूर्वाधार मन्त्री लगायतका वन सँग सम्बन्धित कार्यालय सँग समन्वय गरेर काम अगाडि बढाउन लागिएको बताए । उनले भवन निर्माणको काम सोमबार देखि सुरु गरिने बताए । उनले नगरपालिका सँग जग्गा पनि नभएको र किन्न सक्ने अवस्था पनि नभएकाले सार्वजनिक क्षेत्रमा वडाको प्रशासकीय भवन निर्माण गर्न लागिएको बताए ।

‘स्थानीयको आवश्यकताका आधारमा ठाउँ छनोट गरी भवन निर्माणको काम अगाडि बढाइएको हो’ उनले भने ‘अन्य वडाका भवन पनि बनाउनु पर्ने छ । जग्गा किनेर भवन बनाउन सकिने अवस्था छैन । हामीले यसरी नै अन्य वडाका पनि भवन बनाउनु पर्ने हो । यसमा सबैको सहयोग आवश्यक पर्छ ।’ उनले वडाको भवन वनको खाली क्षेत्रमा निर्माण भइरहेको बताए ।

यसअघि सामुदायिक वन भित्र भवन निर्माण गर्दा सव–डिभिजन वन कार्यालय अत्तरियाले निर्माणको काम रोकेको थियो । सो क्रममा निर्माणमा खटिएका केही मजदुरलाई समेत वन कार्यालयले पक्राउ गरेको थियो । वनले भदौ ८ गतेदेखि भवन निर्माणको काम रोकेको थियो ।

उक्त स्थानमा भवन निर्माणका लागि नगरपालिकाले पिके कन्स्ट्रक्सन सँग ८७ लाख ४४ हजार ३ सय ६७ मा ठेक्का सम्झौता गरेको छ । २०८० जेठ ३१ गते भएको सम्झैता अनुसार भवन निर्माणको काम २०८० चैत १५ गतेभित्र सक्नुपर्ने छ । भवन निर्माणका लागि नगरपालिकाले मौजुदा कोष सञ्चालन निर्देशिका २०७५ बमोजिम जिल्ला समन्वय समिति धनगढीको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा १ करोड ३८ लाख लागत अनुमान गरेर वडा कार्यालयको भवन बनाउन २०७९ चैत २९ गते विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.