सुन प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।
भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरालाई पक्राउ गरिएको सीआईबी उच्च स्रोतले जानकारी दियो । सीआईबीमा सोधपुछका लागि बोलाइएका बेला त्यहीबाट पक्राउ गरिएको हो ।


‘कथित ठूलो भनिएको मिडियाले ग्वेयल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोशिश भएकाले स्वयं सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ राहुलले लेखेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले पनि राहुल महरालाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरी स्रोतका अनुसार करीब ६० किलो सुनकाण्डमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा राहुललाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबूक स्टाटस लेखेका थिए ।



















