खाेज्नुहाेस

२ दिनसम्म उठेन शव, छानविन समितीले छानविन गर्दै

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको २ दिनसम्म पनि शव उठ्न सकेको छैन । मंगलबार दिउँसो ११ बजेतिर मृत्यु भएकी गोदावरी नगरपालिका वडा नं. २ कडायत टोल बस्ने लक्ष्मी भट्टराई र उनको नवजात शिशुको शव हालसम्म पनि उठ्न नसकेको हो ।

अस्पताल प्रशासन सँग छलफल भएपनि छलफल बमोजिमका मागहरु पुरा नगरेकाले पिडित पक्षले शव उठाउन दिएको छैन । मृतकका श्रीमान शिवराज भट्टराईले घटनाको निष्पक्ष छानविन भएर दोषीलाई कारबाही नभएसम्म शव नउठाउने बताएका छन । उनले घटनाको निष्पक्ष छानविन हुनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउने पर्ने माग गरेका छन । अस्पतालको लापरबाहीका कारण शिशु र श्रीमतीको ज्यान गएको बताउदै उनले दोषीलाई कारबाहीका साथै उचित क्षतिपुर्तिको समेत माग गरे । ‘निष्पक्ष छानविन हुनुपर्छ, दोषिलाई कारबाही गरिनुपर्छ’ उनले भने ‘त्यसपछि हामि शव उठाउछौ, त्यसका साथै क्षतिपुर्ति पनि दिईनुपर्दछ ।’ उनले आफ्नो ५÷६ वर्षको बालकको लालनपालन र पठनपाठनको पनि व्यवस्था मिलाईनुपर्ने बताए ।

attariya hospital

यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर नर बहादुर मौनीले घटनाको छानविनका लागी समिति गठन गरिएको बताए । उनले घटनाको निष्पक्ष छानविन हुने र दोषीलाई कारबाही गरिने समेत बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । जसमा धनगढी स्थित सेती प्रादेशीक अस्पतालका दुई जना डाक्टरहरु, क्षेत्रिय स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पिडित पक्षबाट रहेको उनले बताए ।

navjiwan hospital

उक्त समितिले प्रारम्भीक अनुसन्धान गरिरहेको उनले बताए । उनका अनुसार अस्पताल सामुदायीक भएकाले अस्पताले क्षतिपुर्ति दिने अख्तियारी छैन । ‘प्राईभेट अस्पतालहरुले क्षतिपुर्ति दिएपनि सरकारीमा त्यस्तो अख्तियारी छैन’ उनले भने ‘सरकारीमा नागरिकलाई सहुलियतमा सेवा प्रदान हुने भएकाले अस्पतालले क्षतिपुर्ति दिने अवस्था छैन, तैपनि स्थानिय सरकार मातहत भएकाले केही सहयोग हुन्छ की भन्ने उहाँहरुको अपेक्षा जायज हो ।’ उनले नगरप्रमुखले आफ्नो तर्फबाट ५० हजार सहयोग गरेको र बाँकी कुरा छानविन पछि हुने बताए ।

स्थानियको आन्दोलन, प्रहरीको लाठीचार्ज

पिडितलाई क्षतिपुर्तिको माग गर्दै स्थानियहरुले मंगलबार आन्दोलन गरेका छन । अत्तरिया देखी कञ्चनपुर जाने राजमार्ग अवरुद्ध गर्नुका साथै नाराबाजी गरेर स्थानियहरुले आन्दोलन चर्काएका थिए । आन्दोलित स्थानिय माथी प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । राजमार्ग अवरुद्ध गरि बसेका स्थानियमाथी प्रहरीले करिब ८÷१० राउण्ड अश्रुग्यास प्रहार गरेको सञ्चारकर्मी बालकृष्ण ओझाले बताए ।

उनका अनुसार प्रहरीले अवरुद्ध राजमार्ग खोल्ने प्रयास गर्दा स्थानियहरुले ढुंगामुडा प्रहार गरेका थिए । स्थानियहरुले ढुंगामुडा प्रहार गरेसँगै प्रहरीले लाठिचार्ज सुरु गरेको थियो भने आन्दोलनकारीमाथी अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहार पछि आन्दोलनकारीहरु तितरबितर हुँदा राजमार्ग भने सुचारु भएको छ ।

आईतबार बिहान सुत्केरीका लागी मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं. २ मा बस्ने २८ वर्षिया लक्ष्मी भट्टराईको मंगलबार नवजात शिशुसहित मृत्यु भएको थियो ।