बझाङ – बझाङको बुंगल नगरपालिकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि नगरपालिकाले स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन लागेको हो ।

रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले बताए । यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ३२ लाख ८८ हजार रुपैयाँ बजेट छुट्याएको र चैत्र ७ गते बोल पत्रसमेत आह्वान गरी सकेको नगर प्रमुख धामीको भनाइ रहेको छ । बोलपत्र आह्वान गरेपछि परेका आवेदनबाट छनोट भएका कम्पनीहरूले स्यानिटरी प्याड खरिद गरी नगरपालिकामा बुझाएपछि नगरपालिकाको शिक्षा शाखाबाट सबै विद्यालयहरूलाइ आवस्यकता अनुसार वितरण गरिने नगर प्रमुख धामीले बताए ।

नगरपालिका भित्रका सामुदायिक विध्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने छात्राहरूको संख्या २ हजार ६ सय २७ जना रहेका छन् । आर्थिक अभावमा कतिपय छात्राहरूले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमण हुन सक्ने भएकाले जनचेतना अभिवृद्धिका लागि पनि स्यानिटरी प्याड उपलब्ध गर्न लागेको नगरपालिकाका शिक्षा शाखा अधिकृत देवराज जोशीले बताए । छात्रा संख्याको आधारमा नगरपालिकाले स्यानिटरी प्याड खरिदका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडी बढाएको हो ।

















