कैलाली – पछिल्लो एक महिनायता कैलाली र कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमणदर बढेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी कैलालीका अनुसार कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण बढेको छ ।
रेबिज सङ्क्रमणका कारण कञ्चनपुरमा भैँसी, गाई र बाख्राको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीले बताए । उनले कैलालीका केही स्थानमा देखिए पनि कञ्चनपुरमा तीव्ररुपमा सङ्क्रमण फैलिन थालेको बताए ।
‘कञ्चनपुरको बेदकोट र भीमदत्तका विभिन्न स्थानबाट पशु मर्न थालेपछि हामीलाई खबर आयो हामीले गएर अनुसन्धान गर्दा रेबिजको सङ्क्रमण पुष्टि भएको छ’, उनले भने, ‘मङ्गलबार मात्रै भीमदत्त नगरपालिका–१५ मा रेबिजको सङ्क्रमणबाट गाईको मृत्यु भएको छ ।’
रेबिजकै कारण भीमदत्त नगरपालिका–१३ मा बाख्राको मृत्यु भएको छ भने बेदकोट नगरपालिकाको चम्मापुरमा भैँसीको मृत्यु भएको छ । त्यसैगरी भीमदत्त नगरपालिकाको तिलकपुरमा पनि रेबिजकै कारण गाईको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जनाएको छ ।
‘कैलालीको गौरीगङ्गा र धनगढीमा सङ्क्रमण देखिएको छ’, वरिष्ठ पशु चिकित्सक जोशीले भने, ‘कञ्चनपुरमा रेबिजको सङ्क्रमण बढी फैलिएको छ हामीले सबैलाई सचेत हुन आग्रह गरेका छौँ ।’ उनले सङ्क्रमण तीव्र देखिन थालेपछि प्रयोगशालाबाट निःशुल्क रुपमा खोप उपलब्ध गराउन थालेको जानकारी दिए ।
‘स्याल र कुकुरको टोकाइबाट रेबिज सङ्क्रमण हुन्छ भने सङ्क्रमणपछि यसको कुनै उपचार छैन’, उनले भने, ‘सबैले कुकुरमा रेबिजविरुद्धको खोप लगाउन आवश्यक छ ।’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले कञ्चनपुरमा रेबिजको सङ्क्रमण फैलिएको भन्दै सबै सचेत हुनुपर्ने बताए ।
‘रेबिजका कारण दुई/तीन वटा गाई र कुकुर मरिसकेका छन’, उनले भने, ‘एक महिनायता सङ्क्रमणदर बढ्दो छ ।’ भीमदत्त नगरपालिकाका–१४ अध्यक्ष भोजराज जोशीले रेबिजका कारण तीन वटा गाई मरेको बताए ।
‘रेबिजकै कारण तीन वटा गाईको मृत्यु भएको हो’, उनले भने, ‘रातिको समयमा स्यालले या कुकुर कस्ले टोक्यो भन्ने थाहा भएन ।’ कञ्चनपुरमा रेबिजका कारण गाईवस्तु मर्ने क्रम बढ्न थालेको छ ।
रासस