बैतडी – बैतडीको मेलौलीमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । बैतडी समाज कैलालीले बैशाख ८, ९ र १० गते मेलौली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य चौकी परिसरमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागको हो ।

उक्त स्वास्थ्य शिविरमा विभिन्न ८ विधाका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य जाँच गर्ने जनाइएको छ । जसमा हाड जोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, जनरल फिजिसियन, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग र बाल रोग विशेषज्ञहरूले निःशुल्क परामर्श सेवा प्रदान गर्ने समाजका अध्यक्ष माया प्रकाश भट्टले जानकारी दिए ।

शिविरमा धनगढी नेत्रालयले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत प्रदान गर्नेछ । दुर्गममा रहेका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले आयोजना गरिने स्वास्थ्य शिविरमा मेलौली नगरपालिका, पाटन नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका गरी चार वटा स्थानीय तहका नागरिकहरू लक्षित गरिएको छ । शिविरमा सबै प्रकारको औषधी निःशुल्क वितरण गरिने पनि समाजले जनाएको छ ।


















