अस्पतालका रुपमा सेवा दिदै टिकापुर आँखा उपचार केन्द्र

टीकापुर – विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अब अस्पतालका रुपमा सेवा दिन थालेको छ । एक महिनाअघिदेखि उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको हो ।

Karma Consultancy

केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि भौतिक पूर्वाधार अभाव भएको छ । ‘केन्द्रका रुपमा सेवा दिइरहेको अवस्था थियो, अस्पतालमा परिणत गरेपछि संरचनाको आवश्यक्ता छ’ नेत्र सहायक कमल साउँदले भने ‘शल्यक्रिया भएपछि बिरामी राख्ने भवन र शैय्याको अभाव छ ।’ उनले बिरामीलाई सहज हुने गरी सेवा दिन केही भवन आवश्यक रहेको बताए ।

citizen security services

‘बिरामीको चाप बढी छ आवश्यक संरचनाका बारेमा यस क्षेत्रका स्थानीय तहले ध्यान दिन जरुरी छ’ उनले भने ‘अस्पतालमा परिणत गरिएपछि मङ्गलबार र बिहीबार आँखाको शल्यक्रिया गर्ने गरिएको छ ।’ महिनामा एक सय ५० जना भन्दा बढीको शल्यक्रिया हुने गरेको साउँदले जानकारी दिए ।

attariya hospital

अस्पतालमा दैनिक एक सय ५० देखि दुई सय आँखाका बिरामी आउने गरेका छन् । सुदूरपश्चिमको धनगढीको गेटामा पाइने सेवा कैलालीको पूर्वी भेग टीकापुरबाट पाइन थालेपछि बर्दिया र कैलालीका नागरिकले सहजरुपमा सेवा पाउन थालेका छन् । चौध कट्ठा जमिनमा उपचार केन्द्र सञ्चालनमा थियो । त्यही भवनमा अस्पतालले सेवा दिइरहेको छ । उपचार केन्द्र अस्पतालमा परिणत भएपछि अहिले १२ जना कर्मचारी कार्यरत छन् । अस्पतालमा एक विशषेज्ञ, तीन नेत्र सहायक, एक दृष्टि विशेषज्ञ तथा अन्य प्राविधिक कर्मचारी कार्यरत छन् ।

उपचार केन्द्रलाई २०७८ पुस ६ गते अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गेटा आँखा अस्पतालले गरेको थियो । यसअघि केन्द्रका रुपमा सेवा दिँदा गेटा आँखा अस्पतालका चिकित्सक केही वर्षसम्म महिनामा एक पटक र पछिल्लो समय दुई पटक शल्यक्रिया सेवा दिन टीकापुर आउने गरेका थिए । टीकापुर आँखा अस्पताल गेटा आँखा अस्पतालको शाखाकै रुपमा सञ्चालन हुने भएको छ ।

केन्द्रको स्तरवृद्धि गरेर अस्पतालका रुपमा सेवा दिन थालिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए । ‘नेत्र विशेषज्ञ सेवा, आँखाको शल्यक्रिया, फार्मेसी र अप्टिकल सेवा दिन थालेका छौँ’ भट्टले भने ‘स्थानीय तह र प्रदेश सरकारले भवन निर्माणमा सहयोग गरे भने आफ्नै भवनबाट सेवा दिन सक्ने थियौँ ।’ टीकापुर आँखा अस्पताललाई भौतिक संरचना आवश्यक छ । त्यसका लागि प्रदेश सरकारसँग पटकपटक प्रस्ताव पेश गरे पनि सुनुवाइ नभएको भट्टले गुनासो गरे । उनले टीकापुर आँखा अस्पताल सेकेण्डरी लेबलको अस्पताल भएको भन्दै बिरामीको चापको आधारमा स्वास्थ्यकर्मी थप्दै जाने बताए ।

टीकापुर आँखा उपचार केन्द्रका कारण यस क्षेत्रका नागरिकलाई ठूलो राहत भएको छ । आँखा उपचार गर्न धनगढी या नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । बर्दिया र कैलालीका आधा नागरिकले सेवा लिने केन्द्र अस्पतालमा परिणत भएपछि अन्य सेवा पनि सहजरुपमा पाउने भएका छन् । केन्द्रले बेलाबखत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको छ ।

‘आँखा अस्पताल सञ्चालन भएपछि नागरिकलाई ठूलो राहत भएको छ’ समाजसेवी भुवनेश्वर अधिकारीले भने ‘यस क्षेत्रका विपन्न नागरिकले सहजरुपमा सेवा लिइरहेको संस्थाका बारेमा स्थानीय जनप्रतिनिधिले चासो राख्नुपर्छ ।’ अस्पताललाई बलियो बनाउन यस क्षेत्रका स्थानीय तह मिलेर अघि बढ्न आवश्यक छ । विपन्न नागरिकले १ सय रुपैयामै सेवा पाइरहेका छन् । यही सेवा लिन अन्यत्र जानु परेमा एक हजारभन्दा बढी खर्च हुने गरेको अधिकारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.