प्रदिप मलासी/ बझाङ – परमपरागत सीपलाई आधुनिकरण गर्दै छाला जुत्ता उत्पादनमा स्थानीय सक्रिय हुन थालेका छन । जयपृथ्वी नगरपालिका – ५ का दलित समुदायका सार्की परिवारका ५ जना युवाले परम्परागत छालाको जुत्ता सिलाइ अभियानलाई निरन्तरता दिदै आएका छन् ।
कोटेलि गाउँका ५ युवाले १ महिनामै करिब विभिन्न डिजाईनका जुत्ता बनाउन सिकेका छन् । नगरपालिकाले गरिब संग विशेश्वर कार्यक्रम अन्तरगत ३ लाख बजेटमा संचालन गरिएको उक्त कार्यक्रम युवालाई रोजगार संग जोड्ने बाटो बनेको छ ।
‘थप अरुमा केही महिना सिक्न पाउने व्यवस्थाको बजेट तयार पारि हामीलाई दिर्घकालिन व्यवसायि बनाउन नगरपालिकालाई आग्रह गरेका छौ’ तालिमका सहभागी रमेश सार्कीेले भने ‘आजकै मितिबाट छाला जुत्ता उत्पादन लाई निरन्तरता दिदै परम्परागत सीपको सहि सदुपयोग र आधुनिकरण गर्ने छौ ।’
जयपृथ्वी नगरपालिका ५ मा छाला जुत्ता उत्पादन गर्न सक्ने जनशक्ति भएकाले वडा र नगरपालिका संग आग्रह गरेरै भएपनि आगामी दिनमा यो कार्यलाई एक भर पर्दो उद्योगको रुपमा स्थापना गराउन आफू लागि पर्ने जयपृथ्वी नगरपालिका – ५ का वडाध्यक्ष प्रेम बहादुर थापाले बताए । आफ्नो कार्यकालमा नगर संगको बलियो समन्वय र सहकार्यमै भए पनि वडामा छाला जुत्ताको उधोग स्थापना गरि बेरोजगार युवालाई रोजगार दिने र आत्मा निर्भरको बाटो देखाउने वडाध्यक्ष थापाको अठोट छ ।
गरिब संग विशेश्वर कार्यक्रम अन्तरगत बझाङ्गको जयपृथ्वी नगरपालिकाले परम्परागत सीप आधुनिकरण गर्दै समाजमा रहेका बेरोजगार युवालाई रोजगार दिने योजना बताएको छ । जिल्लामा रहेको छालालाई बेकार हुन नदिई यसलाई रोजगारी उचित अवसर प्राप्त हुने व्यवस्था मिलाउन हरेक वर्ष नगरपालिका उचित बजेटको प्रबन्ध मिलाउने जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले बताए ।
रोजगार मुलक उधोगको स्थापना नगरी जनताको जिवनस्तरमा कुनै फेरबदल हुन नस्कने र पालिकाको विकास आभास हुन नसक्ने भएकाले अबको पाँच बर्ष रोजगार उद्यमशिला सीप विकासका क्षेत्रमा नगरपालिका उच्चतहको योजना तयार पर्ने प्रमुख बजालले बताए ।