बैतडी – बैतडीको पाटन नगरपालिकाले स्थानीय साझेदार संस्थासँग मिलेर भारतमा काम गर्ने जाने नेपाली कामदारको दुर्घटना बीमा गराउन थालेको छ । पाटन नगरपालिका र स्थानीय साझेदार संस्था रुडेस बैतडीले भारतमा काम गर्न जाने मजदुरको पाँचदेखि सात लाख रुपियाँसम्मको निःशुल्क बीमा सुरु गरेको हो ।


बिहीबारदेखि वडास्तरमै गएर बीमा गर्न नगरपालिकाले टोली नै खटाएको पाटन नगरपालिकाका निमित्त कार्यकारी प्रमुख राजेन्द्रप्रसाद भट्टले बताए । बिहीबार पाटन नगरपालिका–६ मा खटिएको टोलीले भारतमा कम गर्न जाने कामदारको निःशुल्क बीमा भर्न थालेपछि एकै दिन २५० जनाले दुर्घटना बीमाको फाराम भरेको उनले बताए ।

बीमा शुल्कमध्ये पाटन नगरपालिकाले ५० प्रतिशत र रुडेस बैतडीले ५० प्रतिशत रकम जम्मा गरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाली कामदारको दुर्घटना बीमा सुरु गरेको पाटन नगपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । भारतमा काम गर्न जाने मजदुरको दुर्घटनामा मृत्यु भएमा वा घाइते भएमा बीमितले उपचार खर्चदेखि मृत्युपर्यन्त परिवारका सदस्यले पाँचदेखि सात लाख रुपियाँ पाउनेछन् ।

भारतमा काम गर्न जाने मजदुरले बीमाको रकम तिर्न सक्ने अवस्था नभएपछि अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले बीमा गर्न सहयोग गरेको संस्थाका कार्यक्रम अधिकृत गोपालसिंह भाटले जानकारी दिए । कामदारको बीमा गर्न रुडेस बैतडीले पाटन नगरपालिकालाई सहयोग गर्दै आएको उनले बताए । यो वर्षदेखि दशरथचन्द नगरपालिकामा पनि बीमा कार्यक्रम लागू भएको उनले बताए ।