अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या बढ्न थालेको छ । अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष अस्पतालबाट सेवा लिने विरामीको संख्या बढेको पाइएको हो ।

अस्पतालका जनस्वास्थ्य निरिक्षक महेश दत्त पाण्डेका अनुसार चालु आर्थिक बर्षको माघ महिना सम्म ७ महिनामा १७ हजार ९९६ विरामीले सेवा लिएका छन । उनले माघ महिनामा मात्रै २ हजार ८७६ विरामीले सेवा लिएको बताए ।

मालाखेती अस्पतालमा गत आर्थीक बर्ष २०७८/७९ मा २६ हजार ९८९ जनाले सेवा लिएका थिए भने आर्थिक बर्ष २०७७/७८ मा १६ हजार ५२ जनाले सेवा लिएका थिए ।

पछिल्ला ३ आर्थिक बर्षको औषत तथ्याङ्क हेर्दा मालाखेती अस्पतालबाट आर्थिक बर्ष २०७७/७८ मासिक १ हजार ३१३, आर्थीक बर्ष २०७८/७९ मा मासिक २ हजार ४९ र चालु आर्थिक बर्षमा मासिक २ हजार ७१३ जनाले सेवा लिएको देखिन्छ ।
अस्पतालको व्यवस्थापनमा सुधार संगै एमडीजीपी डाक्टर आएर सेवा सुविधा थपिदा पछिल्लो समय अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या बढ्दै गएको अस्पतालका जनस्वास्थ्य निरिक्षक पाण्डेले बताएका छन । उनले अस्पतालमा २४ घण्टा इमरजेन्सी सेवा, इन्डोर सेवा, ओपीडी, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे सेवा, सुत्केरी तथा सुरक्षित गर्भपतन सेवा संचालनमा रहेको बताए । अस्पतालमा यी सेवा धेरै अगाडी सुचारु भएपनि प्रभावकारी नहुँदा विरामी कम आउने गरेका थिए । पछिल्लो समय सबै सेवा नियमित रुपमा सुचारु रहेको अस्पतालले जनाएको छ ।
जनस्वास्थ्य निरिक्षक पाण्डेले पछिल्लो समय एक्सरे भिडियो एक्सरे सेवा लिने विरामीको संख्या पनि बढेको बताए । आर्थिक बर्ष २०७७/७८ मा ७२० जनाले एक्सरे सेवा लिएकोमा आर्थीक बर्ष २०७८/७९ मा १ हजार ५१३ जनाले एक्सरे र १ हजार २०५ जनाले भिडियो एक्सरे सेवा लिएका छन । चालु आर्थिक बर्षको ७ महिनामा मात्रै १ हजार ३९ जनाको एक्सरे र १ हजार ६७६ जनाको भिडियो एक्सरे गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा भदौ महिना देखि एमडीजीपी डाक्टर डा। अन्वेष कोईरालाको नेतृत्वमा सेवा प्रभाव भइरहेको छ । डा। कोइरालाले पछिल्लो समय बिरामीको चाप अत्याधिक बढेको बताए । उनले अस्पतालको व्यवस्थापनमा भएको सुधारका कारण बिरामीको चाप बढेको हुन सक्ने बताए ।
‘पछिल्लो समय अस्पतालको व्यवस्थापन संगै प्रचार पनि राम्रो भएको छ । अस्पतालको सेवा गुणस्तरीय बनाउने प्रयास पनि हामीले गरिरहेका छौ’ उनले भने ‘अहिले सबै प्रकारका बिरामी अस्पतालमा आउने गरेका छन ।’ उनले ओटी र डेन्टल सेवा पनि केही दिन भित्रमै सुचारु गर्ने तयारी भइरहेको बताए । उनले बिरामीको संख्या बढेकाले डाक्टरको अभाव महशुस भएको बताए ।
हाल अस्पतालमा एक जना एमडीजीपी, २ जना एमबीबीएस, १५ जना नर्स गरी ५० जना कार्यरत रहेका छन । जसमध्ये १४ जना स्थानीय तहबाट नियुक्त गरिएका छन् ।
डा। कोइरालाले थप एक जना डाक्टर नियुक्त गर्ने विषयमा व्यवस्थापन पक्ष संग छलफल भइरहेको बताए । उनले पछिल्लो समय डाक्टर नै अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष हुँदा काम गर्न निकै सहज भएको बताए ।
‘अध्यक्ष ज्यु ले उपचारमा देखि लिएर सबै कुरामा गाइड गर्नु हुन्छ’ उनले भने ‘कुनै सामान आवश्यक परे पनि सहज उपलब्ध भइरहेको छ । अध्यक्ष दैनिक जसो नै अस्पतालमा पुग्नु हुन्छ ।’
मालाखेती अस्पताल गोदावरी नगरपालिका मातहतमा रहेको छ । नगरपालिकाले मंसिर १४ गते डा। नर बहादुर मौनीलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको थियो । यसअघि नगरप्रमुख नै अस्पतालको अध्यक्ष हुने प्रावधान रहेको थियो ।
अध्यक्षमा डा. मौनी नियुक्त भएपछि पुष १ गतेदेखि इन्डोर सेवा सुरु गरिएको थियो । अस्पतालमा हाल छुटै इमरजेन्सी वार्डको पनि निर्माण गरिएको छ ।