मसुरिया – गौरीगंगा नगरपालिका नगर प्रमुख देवीदत्त कडेलले मानसीक स्वास्थ्य तथा मनोसमाजिक समस्या अहिलेको युवापुस्तामा सबैभन्दा ठुलो समस्या रहेको बताएका छन् ।

हिजो चौमालामा टिपिओ नेपालद्धारा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै नगर प्रमुख कडेलले मानसिक रोग वर्तमान समयमा विद्यालय उमेरको देखासिकीले घरपरिवारमा समेत देखा परिरहेको बताउदै मानिसहरुले मानसिक समस्या लुकाउन नहुने धारणा राखे । बढ्दो प्रविधिको प्रयोगसँगै बेरोजगारी गरिबीको कारण अस्वस्थ्य प्रतिष्प्रधाले मानसिक समस्या बढ्दै गईरहेको उनले बताए ।


गौरीगंगा नगरपालिकामा मनोसामाजिक सहयोग कार्यक्रमलाई निति तथा कार्यक्रममा समाहित गरी मनोसामाजिक समस्या नियन्त्रण गर्न विद्यालयमा साप्ताहिक जनचेतना मुलक कार्यक्रम संचालनको आवश्यकता रहेको बताए ।

कार्यक्रममा टिपिओ नेपालका कार्यकारी निर्देशक तथा मनोचिकित्सक डा.कमल गौतमले मनोसामाजिक समस्याको वर्तमान अवस्था र कार्यक्रमको बिषयबस्तु माथि प्रकाश पारेका थिए । उनले मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्वास्थ्य प्रर्बधनमा स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको बताउदै सबै स्थानीय सरकारहरुले समेत यो बिषयलाई आ–आफ्नो नीति कार्यक्रममा समावेश गरेर लैजानु पर्ने धारणा राखे ।
यस्तै कार्यक्रममा टिपिओ नेपालले नगर प्रमुख कडेललाई स्थानीय तहमा मानसिक तथा मनोसामाजिक सहयोग क्रियाकलाप तथा आवश्यक स्रोत प्रतिवेदन हस्तान्तरण साथै सहभागिहरु बीच अन्र्तक्रिया आयोजना गरिको थियो । कार्यक्रम विभाग प्रमुख पिताम्बर कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, शाखा प्रमुख, संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।