टीकापुर अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा

टीकापुर – कैलालीको टीकापुर अस्पतालले हाडजोर्नीको समस्या भएका तीनदेखि चार बिरामीको दैनिक शल्यक्रिया गर्ने गरेको छ । अस्पतालमा गत वर्ष हाडजोर्नीको समस्या भएका पाँच सय ३७ जटिल तीन सय छ सामान्य खालको शल्यक्रिया गरिएको छ ।

maya metro hospital

अस्पतालमा यस वर्षको मङ्सिर सम्ममा दुई सय ३५ जटिल एक सय ३३ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । विगतमा साधारण शल्यक्रिया सेवा मात्र दिने गरेको अस्पतालले विगत दुई वर्षदेखि सर्जन चिकित्सकको सेवा दिँदै आएको छ ।

joshi vada pasal 2

अस्पतालमा साधारणलगायत जटिल शल्यक्रियासमेत हुने गरेको छ । अस्पतालले हातखुट्टा भाँच्चिएका, कापका जोर्नी, जोर्नीको प्रत्यारोपण, मेरुदण्डको शल्यक्रिया, शल्यक्रियापछि किलाकाटा निकाल्ने, नसा काटिएका, घुँडाको जोर्नीको मेसिनका माध्यमबाट पनि शल्यक्रिया सेवा दिन थालेको छ ।

मेरुदण्डको शल्यक्रियाका लागि चिकित्सक नभएकाले नियमित गर्न नसकिएको अस्पतालले जनाएको छ । एमआरआइ सुविधा नभएकाले दूरबिनका माध्यमबाट हुने शल्यक्रिया गर्न समस्या भइरहेको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ तथा अस्पतालका प्रमुख रेमकुमार राईले जानकारी दिए । ‘एमआरआइ गर्न गएका अधिकांश बिरामी फिर्ता नआउने समस्या छ’, उनले भने ‘अस्पतालमा सुत्केरी, पत्थरीलगायतको शल्यक्रिया सेवासमेत हुने गरेको छ । पित्तथैलीमा भएका पत्थरी र आन्द्राको शल्यक्रिया हुने गरेका छन् ।’

उनले बिरामीको लेखाजोखा गरेर बिरामीलाई फाइदा हुने अवस्थामा शल्यक्रिया गर्ने गरिएको बताए । ‘बिरामीलाई थप जोखिम हुने भएमा अन्य विधि अपनाउन सल्लाह दिन्छौँ । हामी सरकारी अस्पतालका चिकित्सक भएकाले चाहिने भएमात्र शल्यक्रिया गर्छौं’, उनले भने ‘विगतमा १५ शय्याको अस्पताल थियो । हाल ५१ शय्याका छ । हामीले आफैँले थपेर ७८ शय्या सञ्चालन गरेका छौँ ।’ डाक्टर राईले सेवा दिनका लागि धेरै उपकरण अभाव भएको बताउँदै भने, ‘म आएपछि प्रदेश सरकारलाई अनुरोध गरेर धेरै बजेट ल्यायौँ र आवश्यक उपकरण खरिद गरेका छौं ।’

अस्पताललाई सबैले सहयोग गरेर राम्रो बनाउनुपर्ने उनको भनाइ छ । ‘बिरामीको चाप धेरै छ । अब विशेषज्ञ थपिएमा सेवा दिने ठाउँ छैन । बेड छैन’, डा राईले भने ‘बिरामीको चाप व्यवस्थापन गर्न थप लगानी बढाउनुपर्छ । अस्पतालमा न्यूनतम दरमा सेवा दिइन्छ । यहाँका बिरामीले बाहिर सेवा लिन जानुपरेको छैन जसले आर्थिक खर्च र समय बचाएको छ ।’

अस्पतालले यसरी शल्यक्रियामा खट्ने वा थप सेवा दिने चिकित्सकलाई प्रोत्साहनलगायतका सेवा दिन्छ । अस्पतालमा शल्यक्रिया सेवा लिन नसक्ने आर्थिक अवस्था कमजोर भएकालाई छुटको सुविधा पनि दिने गरेको अस्पतालले जनाएको छ । ‘अस्पतालमा अहिले पनि सबै खालका विशेषज्ञ सेवा उपलब्ध छैनन् । अर्थोपेडिक चिकित्सकलाई अन्य विशेषज्ञ चिकित्सक पनि चाहिन्छ । त्यो अझैँ छैन’, डा राईले भने, ‘यहाँ आउने चिकित्सक पनि भौतिक र आर्थिक सुरक्षा खोज्ने भएकाले आउन चाहँदैनन् । विकट ठाउँमा बस्दा ज्ञान, सीप विकास गर्न सकिँदैन ।’ सिकेका सबै सीप प्रयोग गर्न नपाएकाले आफू पनि बेलाबेलामा रिफ्रेसर तालिम लिन जाने गरेको उनको भनाइ छ ।

आफू टीकापुर आउनुअघिको अवस्था सम्झदै डा राई भन्छन् ‘म आउँदा हाडजोर्नीका केही सामान थिएनन्, अहिले धेरै सामान व्यवस्था गरिएको छ । यहाँका नागरिकको माग धेरै छ । थप सेवा दिनका लागि हामीलाई वातावरण बनाइदिनुपर्छ ।’ अस्पतालमा सुविधा सेवा भएन भन्नुभन्दा कसरी सेवा राम्रो बनाउने, कसरी व्यवस्था राम्रो बनाउने भन्नेमा यहाँका नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारीले अस्पतालमा हाल अर्थोपेडिक, जनरल सर्जरी, अन्य इमर्जेन्सीलगायतका सेवा पाइने भएकाले दैनिक पाँच सय बढी बिरामीले सेवा लिइरहेका बताए । ‘अहिले शय्या अभावको समस्या छ । हामीले सय शय्या बनाइदिन पहल गरिरहेका छौँ’, उनले भने ‘प्रदेश सरकारले शय्या अनुमति दिएर थप दरबन्दी स्वीकृति र बजेटको व्यवस्था गरेमा थप सेवा सुचारु गर्न सकिन्छ ।’

यसअघि हाडजोर्नीका बिरामी उपचार गराउन भारत, नेपालगञ्ज जानुपर्नै बाध्यता थियो । टीकापुर अस्पतालले सेवा दिन थालेपछि आम नागरिकले ठूलो राहत महसुस गरेका छन् । हाडजोर्नीका बिरामीको उपचार गर्न अन्यत्र जाँदा आर्थिक भार पर्नुका साथै कुरुवाको समस्या पर्ने गरेको छ । बर्दिया र कैलालीका बिरामीले यतिखेर हाडजोर्नीको उपचारलाई थप सुविधायुक्त बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

‘टीकापुर अस्पतालको सेवा चुस्त दुरुस्त बनाउन यहाँका जनप्रतिनिधिले ध्यान दिन जरुरी छ’, स्थानीय भुवनेश्वर अधिकारीले भने ‘टीकापुर अस्पतालले दिइरहेको विशेषज्ञ सेवामा सुधार भइरहेको छ, तर भइरहेको सेवालाई थप प्रभावकारी बनाउन अस्पताल व्यबस्थापन समितिले स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न जरुरी छ ।’

उनले हाडजोर्नीका बिरामीले राहत पाएको भए पनि शुल्कलगायत अन्य सुविधाका बारेमा अस्पतालले सोच्न जरुरी रहेको बताए ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.