सीमामा छैन सावधानी

कञ्चनपुर – भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । तर भारतबाट घर फर्किने नेपालीलाई भने नाकामा परीक्षणदेखि स्वास्थ्य मापदण्डमा कुनै सावधानी अपनाइएको छैन । यति मात्रै होइन, महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पीसीआर ल्याब पनि बन्द छ ।

maya metro hospital

अहिले भारतबाट दैनिक ३/४ सयको संख्यामा नेपाली आउजाउ गरिरहेका छन् । तर उनीहरूको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिँदैन । ज्वरो आएका तथा कोरोनाको लक्षण देखिएकाहरूको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ । ‘अहिले भारतबाट घर फर्किनेमा लक्षण दखिएकाहरूको मात्रै परीक्षण भइरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले भने, ‘संक्रमण नदेखिएकाले परीक्षण कम गरिएको हो ।’

joshi vada pasal 2

गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार करिब ४ महिनादेखि भारतबाट फर्किनेमा संक्रमण देखिएको छैन । सोमबार पनि ११५ जनाको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले बताए । उनका अनुसार दैनिक ३ सय बढी नेपाली नाकाबाट फर्किरहेका छन् ।

महाकाली प्रादेशिक अस्पतालमा रहेको पीसीआर ल्याब पनि बन्द छ । जनशक्ति अभाव र अन्य परीक्षणका लागि सामग्री अभावका कारण ल्याब बन्द रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए । उनका अनुसार विगतमा कोरोना संक्रमणकै बेला राखिएका कर्मचारीको करार अवधि सकिएपछि अहिले ल्याबमा काम गर्ने कर्मचारी छैनन् ।

‘अहिले जनशक्तिको पनि अभाव छ, अन्य आवश्यक सामग्री पनि छैन,’ डा. भट्टले भने, ‘संक्रमित पनि आएका छैनन् ।’ उनले पीसीआर ल्याब सञ्चालन र कोरोना संक्रमितको उपचारका विषयमा प्रदेशमा छलफल भइरहेको बताए । अहिले संक्रमित आएमा एन्टिजेन परीक्षण गरिने उनले बताए । मेसु डा. भट्टले संक्रमित देखिएमा होम आइसोलेसनमा राख्ने र गम्भीर संक्रमित भएमा अस्पतालमै राखेर उपचार गरिने बताए । आइतबार जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिको बैठक बसेर संक्रमण रोकथाम तथा उपचारका विषयमा छलफल भएको उनले बताए ।

पीसीआर परीक्षणसंँगै उपचारका विषयमा प्रदेश र केन्द्रबाट पनि आवश्यक निर्णयसंँगै निर्देशन आवश्यक हुने उनले बताए । महाकाली प्रादेशिक अस्पतालमा दोस्रो र तेस्रो लहरको कोरोना संक्रमणकै बेला अक्सिजन प्लान्टसमेत जडान गरिएको छ । आइसोलेसन कक्षसमेत निर्माण गरिएको छ । अस्पतालनजिकै करोडौं लगानी गरेर निर्माण गरिएको आइसोलेसन केन्द्र पनि अलपत्र छ । केन्द्र सञ्चालन अन्योलका कारण अलपत्र परेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.