बझाङ – वित्थडचिर गाउँपालिका–१ स्थित केदार माविमा विद्यार्थीको सङ्ख्या आठ सयभन्दा बढी छ । बैतडी र बझाङका विद्यार्थी पढ्ने सो विद्यालयमा सरसफाइका लागि भने हम्मेहम्मे पर्छ । पानीको दुवै धारा भएको विद्यालयमा पिउनेदेखि दिवा खाजा पकाउने र शौचालयमा लिनसमेत निकै अपर्याप्त छ । तर कक्षाकोठामा अलि ढिलो भए पनि सरसफाइ भने अनिवार्य नै छ ।
सिँगास गाउँपालिका–९ बैतडीका पदम बोहरा केदार माविमा ८ कक्षामा पढ्छन । उनी आएदेखि विद्यालयमा अन्य सिकाइभन्दा सरसफाइ प्राथमिकतामा छ । ‘हामी कक्षाकोठामा दुई मिनेट ढिलाइ पुगे पनि शौचालय प्रयोगपछि हात नधोएर जाँदैनौँ’, उनले भने ‘हामी त ठूलो कक्षामा पुगिसक्यौँ । सानो कक्षाका भाइबहिनी पनि हात धोएर मात्र खाजा खान्छन् ।’


उनका अनुसार सङ्घसंस्थाका लगानीमा खानीपानीका धारा, फोहर फाल्ने खाल्डा, शौचालय, विद्यालय भवन निर्माण भए विद्यार्थीलाई सरसफाइमा कमी भएको छैन । कहिलेकाहीँ त विद्यालयले नै सरसफाई कार्यक्रम नै गर्ने गरेको उनले बताए ।
आइडीएसका पालिका संयोजक रूपा ढाँटले विद्यार्थीको स्वास्थ्यसँग जोडिएको कुरा हुँदा सरसफाइ अनिवार्य गरेको बताए । ‘सबैभन्दा संवेदनशील कुरा स्वास्थ्य नै हो’, उनले भने ‘स्वास्थ्य जोगाउन सरसफाइ अतिआवश्यक भएको हुँदा सबै विद्यालयमा अभियान नै चलाएका हौँ ।’

उनले आफ्नो थोरै पुँजीले केही गर्न नसके पनि सरसफाइमा विद्यार्थीलाई चेतना जगाएको बताए । उनले भने ‘एकीकृत विकास समाज (आइडीएस)को धेरै लगानी त छैन तर, सरसफाईका लागि भने नियमित सक्दो सहयोग गरिरहका छौँ ।’ अहिले पालिकाका सबै विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत सरसफाइका कार्यक्रम गरिरहेको उनले बताए ।
बुङ्गल नगरपालिकामा ८२ सामुदायिक विद्यालय छन् । विगत केही वर्षयता आधारभूतदेखि माध्यमिक तहसम्मका विद्यालयमा समस्या खानेपानीकै थियो । कतै पानी भएर पनि प्रयोगमा नआउने त कहिल्यै पानी नै नहुने समस्या अहिले भने केही हदसम्म टरेको छ ।
नगरपालिका प्रमुख जयबहादुर धामीले भने ‘विगतका दिनमा अधिकांश विद्यालयमा खानेपानीकै समस्या हुन्थ्यो । अहिले भने धेरै नै फेरिएको छ । विद्यालयमा बनेका धाराका संरचना पनि सबैलाई समान भन्ने छन् । विद्यार्थीमा सरसफाइको चेतना फैलिएको छ ।’
उनका अनुसार अहिले कतिपय विद्यालयमा धारा तथा शौचालय निर्माणाधीन अवस्थामा छन् भने कतिपयमा सम्पन्न भइसकेका छन् । सङ्घसंस्था तथा पालिकाको सहकार्यमा सचेतनामूलक कार्यक्रमले सबैलाई जिम्मेवार बनाएको उनले बताए ।
‘सबैसँगको सहकार्यमा विभिन्न सङ्घ संस्थाले गरेको काम प्रभावकारी हुँदै गएको छ’, उनले भने ‘गुणस्तरीय शिक्षाका लागि सरसफाइ, स्वास्थ्य, भौतिक संरचना तथा वातावरण अति नै आवश्यक हुन्छ । अहिले बुङ्गलमा पनि त्यसको अभ्यास भइरहेको छ ।’ बालबालिकाको स्वास्थ्य तथा पोषणका लागि हरेक विद्यालयमा सरसफाइलाई पहिलो प्राथमिकता दिएको आइडीएसका बुङ्गल संयोजक ममता सिंहले बताइन् ।
रासस


















