बझाङ – मंगलबार राति डोटीमा गएको भूकम्पका कारण बझाङमा दुई दर्जनभन्दा बढी घर भत्किएका छन् । जिल्लाभर दर्जनौं घर र सार्वजनिक भवनहरुमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

भूकम्पले बझाङमा मानवीय क्षति भने भएको छैन । मध्यरातपछि २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाभर त्रास छाएको थियो ।
भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने बाबा आश्रम आसपास केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्यूडको भूकम्पको धक्काले बझाङको खप्तड छान्ना गाउँपालिकामा ६, थलारा गाउँपालिकामा ७, केदारस्यूँ गाउँपालिकामा १, छविस पाथीभेरा गाउँपालिकामा ६ र मष्टा गाउँपालिकामा ५ घर भत्किएको प्रहरीले जनाएको छ ।


भूकम्पको धक्काले जिल्लाभर दर्जनौं घर चर्किएको खबर आएको र क्षतिको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । ‘क्षतिको जानकारी आएका ठाउँमा प्रहरी खटाएका छौं । कहाँ कति क्षति भयो भनेर हाम्रो टोलीले विवरण संकलन गर्ने काम गरिरहेको छ,’ उनले भने ‘पूरा विवरण नआइसकेकोले क्षतिको परिमाण अझै बढ्न सक्ने देखिन्छ,’ उनले जिल्ला कारागारको पर्खाल पनि चर्किएको बताए ।
भूकम्पका कारण सदरमुकाम चैनपुर नजिकै भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसका केही भवनहरू चर्किएर जोखिमपूर्ण बनेका छन् । ‘भवनका भित्ता चर्किएर छियाछिया भएका छन् । कक्षा संचालन गर्न पनि जोखिम भएको छ,’ शिक्षक शेरबहादुर ओलीले भने ।



















