खाेज्नुहाेस

बझाङमा मतपेटिका ल्याउन हेलिकप्टरको माग

Image

बझाङ – बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

navjiwan hospital

साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । ‘सडक सञ्जालले साइपाल जोडिएको छैन’, उनले भने,‘त्यहाँबाट बोकाएर ल्याउन कम्तीमा तीन दिन लाग्छ, मतगणना पनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने व्यवस्था गरिदिन भनेका छौँ ।’ मतपेटिका सङ्कलनलाई हेलिकप्टर माग गरिएको र निर्णय आउन भने बाँकी रहेको उनले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

साइपालका पाँच वटा मतदान केन्द्रको प्रत्येकमा सङ्घ, प्रदेश र समानुपातिक गरी चारवटा मतपेटिका हुन्छ । हरेक केन्द्रमा एउटा मतपेटिका थप पठाइएको हुन्छ । कर्मचारी केन्द्रमा खटिएकाले मतगणना सुरु गर्ने जनशक्ति पनि अभाव हुने हुँदा मतपेटिकासहित कर्मचारीलाई छिटो सदरमुकाम आउने व्यवस्थाका लागि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।

एक सय ८४ मतदान केन्द्र रहेको बझाङमा साइपाल गाउँपालिका वडा नं ५ मा रहेको यारुङकुरुङ डाँडा सबैभन्दा टाढाको दूरीमा रहेको मतदान केन्द्र हो । मतपेटिका, मतदान सामग्री भने दुर्गममा बोकाएर लैजाने तयारी गरिएको छ ।