चुनाव आउन १ महिना मात्रै बाँकी रहदा अहिले उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु मत माग्नमा व्यस्त छन । यस पटकको चुनावमा विगतका निर्वाचनको तुलनामा स्वतन्त्र उम्मेदवारको उम्मेदवारी बढी परेको छ । केही जिवनभर स्वतन्त्र भएर स्वतन्त्रबाट चुनाव लड्दै छन भने केही पार्टीबाट रुष्ट भएर पनि स्वतन्त्रबाट चुनाव लड्दै छन ।
लामो समय नेपाली कांग्रेसबाट राजनीति गरेकी भगववी ओझा (पाठक) पनि यस पटक स्वतन्त्र रुपमा सुदूरपश्चिम प्रदेश सभा उम्मेदवारका लागि कैलाली क्षेत्र नम्बर ४ (ख) बाट चुनावी मैदानमा होमिएकी छिन । उनी कांग्रेसबाट बिद्रोह गरेर चुनाव मैदानमा होमिएकी छिन । चुनावकै सेरोफेरोमा रहेर कैलालीको गोदावरी नगरपालिका – १ निवासी पाठकसंग अत्तरिया खबर दैनिकले गरेको कुराकानीको सम्पादीत अंशः
तपाई कांग्रेसको उम्मेदवार भइसकेको मान्छे पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिनुको कारण के हो ?
यसको कारण मैले धेरै पटक खुलाई सकेकी छु । यसका विविध कारण छन । मुख्य कारण मुल्याङ्कन नहुनु हो । सबै कार्यकर्ता झोले भएर मात्रै लागेका हुँदैनन् । झोलेले पनि आफ्नो इज्जत खोज्छ ।
तपाईलाई नेपाली कांग्रेसले उपमेयरको उम्मेदवार पनि बनाएकै हो । पार्टीको महासमिति सदस्य पनि बनाएको थियो । अरु कांग्रेसबाट के माग्न खोज्नु भएको हो ?
म त्यो बार्गेनिङ, स्वार्थका लागि लागेको होइन । मैले पार्टी भित्रको विकृति विसंगतीका लागि हो । एक महिलालाई हेर्ने दृष्टिकोण फेर्नको लागि हो । कांग्रेसमा कुनै मानिस सक्षम छैनन् र ? प्रदेशका ९ जिल्लामा एक जना पनि महिला थिएनन् र ? पार्टीमा महिला विचरा भएर बसिरहने समस्या छ । समानुपातिकमा पनि ठूला प्रधानमन्त्रीका श्रीमती हाल्ने गरिएको छ । वहाहरुले पनि पटक पटक अवसर पाउनु भएको छ । वहाँहरु किन व्याक हुनु भएन मलाई व्याक गरे जस्तै ।
अब चुनावमा होमिसक्नु भएको छ । प्रचारप्रसारका कार्यक्रम कसरी अगाडी बढाउनु भएको छ ?
भगवती पाठकको नामै काफी छ । भगवती पाठक भनेर नचिन्ने कोही छैन । म यस क्षेत्रका बिभिन्न सामाजिक संघ सस्थामा आवद्ध भइसकेकी छु । मेरा इष्टमित्र पनि यसै क्षेत्रमा हुनुहुन्छ । वहाँ सबैलाई हाम्रो मान्छे हो, राम्रो मान्छे हो, अन्यायमा परेकै मान्छे हो भन्ने छ । अहिले मलाई बाटोमा हिड्दा पनि सबैले आन्टि बेष्ट अफ लक भन्नु हुन्छ । यी सबै कुरा मेरो प्रचारका लागि काफि छ ।
त्यै पनि म चुनावी प्रचारमा हिडिरहेकी छु । मैले नचिनेका मान्छेले पनि मलाई चिनेको पाउन्छु । मैले परिचय दिनुपर्ने पनि आवश्यक छैन ।
दलिय व्यवस्थामा स्वतन्त्र भएर जित्न त गाह्रो होला त ?
मेरो जित्ने आधार मेरो काम हो । मैले भनिसके म बिभिन्न संघसस्थामा जोडिएकी छु । म भन्दा बढी यो क्षेत्रमा संघ सस्थामा आवद्ध भएको मान्छे नै यो क्षेत्रमा छैनन् ।
हामी पनि दलिय व्यवस्थाका लागि लडेका मान्छे हौ । मैले हरेक आन्दोलमा सहभागि भएकी छु । तर अहिले पार्टीको परिवारवादका बिरुद्ध, झोलका विरुद्ध लड्न स्वतन्त्र उठ्नुपर्ने अवस्था आयो । यसको सुरुवात मैले गरेको हो ।
तपाईलाई पार्टीले कारवाही पनि गरिसकेको छ । अव तपाई चुनाव जिते वा हारेपनि पार्टीमा फर्कनु हुन्छ की हुँदैन ?
म इमान्दार मान्छे हो । म लोभिपापी होइन । मेरो पार्टीमा लगानी छ । त्यसैले हिजोसम्म यसको एकदमै माया थियो । तर, जुन पार्टीमा मैले न्याय पाएन अब म किन फर्किन्छु । मै त उम्मेदवारी दिने बितिकै राजीनामा दिएको थिए । मैले समाज सेवा गर्न पार्टीमै आवद्ध भइरहनु पर्छ भन्ने छैन ।
तपाईले चुनावमा के एजेण्डा लिएर लड्दै हुनुहुन्छ ?
मानिसहरुलाई पार्टीका एजेण्डाले वितिष्णा गरिसकेको छ । म सुशासन, भष्ट्राचारका बिरुद्ध बोल्छु । यस क्षेत्रका आवश्यकता पुरा गर्न जोड रहन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, एकल महिला, बालबालिका सबै मेरो एडेण्डामा समेटिएका छन ।
घरदैलोमा मतदाताले कस्ता कस्ता समस्या राख्ने गरेका छन ?
मतदाताहरुले डुवानको समस्या देखाउनु भएको छ । बाटाघाटाका समस्या देखाउनु भएको छ । रोजगारीका समस्या आएका छन । म ति मुद्धा पनि उठान गर्ने छु ।
प्रदेशमा एक्लै स्वतन्त्रबाट सांसद भएर काम गर्न कत्तिको सम्भव छ ?
काम भिजन, बिचारले गर्ने हो । राम्रो कामका लागि स्वतन्त्र भएर पनि काम गर्न सकिन्छ ।
अन्तरमा के भन्न चाहनु हुन्छ ?
म यस क्षेत्रमा फरक हिसाबले काम गरेर देखाउने छु । म प्रति विश्वास गर्नुहोस भन्न चाहन्छु । मैले अहिले सम्म गरेका कामको पनि मुल्याङ्क गरिदिन जनतालाई आग्रह गर्दछु ।
भिडियो