बझाङ – जिल्ला हुलाक कार्यालय बझाङमा हिनामिना भएको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको रकम सरकारले फिर्ता पठाएको छ । झन्डै एक हजार सात सय जनाले जम्मा गरेका बचत रकम सरकाले फिर्ता गरेको जिल्ला हुलाक कार्यालय बझाङका प्रमुख राजेन्द्रबहादुर बोहराले बताए ।

२०७६ साल चैत १२ गते जिल्ला हुलाक कार्यालयमा बचत भएको रकम हिनामिना भएको खुलेको थियो । हुलाक कार्यालयमा बचत खाता खोली स्थानीयवासीले रकम जम्मा गर्दै आएका थिए ।

बचत रकम हिनामिनाको आरोप लागेका जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायको नाममा विशेष अदालतमा मुद्दा चलिरहेको छ । कडायत १५ लाख र उपाध्याय १२ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
फिर्ता आएको रकम छिट्टै सबै बचतकर्ताको खातामा पठाउने कार्यालय प्रमुख बोहराले बताए ।