दुई वडावासीलाई तरकारी खुवाउँदै बझाङका प्रकाश

बझाङ – बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा प्रवेश गरिहाल्छन बझाङको खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका प्रकाश खत्री । उनीसंग तरकारी बारीको हेरविचार गर्ने पर्याप्त समय छैन । बिहान बेलुका बचेको समयले मात्रै धानिरहेको छ, ‘गोपाल फलफूल तथा तरकारी फार्म’ ।

maya metro hospital

गाउँघरमा तरकारी उत्पादन गर्नुपर्छ भन्ने धेरैको चेत हराइसकेको छ । खेतबारी तथा पाखो बाँझै राखेर भारतमा मजदुरी गर्ने परिवारका एक–दुई सदस्यको मात्रै भर पर्थे पूरै परिवार । छिमेकी जिल्ला बाजुराको काँडा, डोगटी, खप्तडछान्ना–७ कै लामागडामा फल्ने तरकारीको ग्राहक मात्रै थिए दुई दर्जनभन्दा बढी गाउँ ।

joshi vada pasal 2

खत्री परिवारले भने २०५४ सालदेखि नै आफ्नै बारीको अग्र्यानिक तरकारी तथा फलफूल खाइरहेको छ । तीन वर्षदेखि भने व्यावसायिक रुपमा तरकारी फार्म दर्ता गरेर दुई वडालाई नै तरकारी तथा फलफूल खुवाइरहेको छ । खत्रीको फार्ममा केरा, नासपाती, अङ्गुर, कागती, सुन्तला, ओखर, किबीजस्ता फलफूल यामअनुसार पर्याप्त पाइन्छन् भने तरकारीमा रायो, सुइचार्ड, झुकेनी, सिमला मिर्चा, स्थानीय तरकारी उत्पादन भइरहेका छन् ।

खत्रीले गत वर्षमात्रै झण्डै चार क्विन्टल बेमौसमी तरकारी बिक्री गरेका थिए । उनले यस याममा पनि गत वर्षकै जस्तै बेमौसमी तरकारी बिक्री हुने अनुमान गरेका छन । विसं २०७४ मा सुरू गरेको पहिलो तरकारी टनेलपछि अहिले खत्रीसँग पाँच तरकारी टनेल छन् । खत्रीका लागि उत्पादित तरकारीको बजार धेरै टाढा छैन, न त बीउबिजन ल्याउने ठाउँ नै टाढा छ । उनी बीउ ल्याउन पनि आफन्तको सहयोगमा तराईका जिल्लाबाट भित्र्याउन्छन । कतिपय तरकारीको बीउ नै राम्रो नपाउँदा लगानी नै उठ्दैन त कतिपय ठाउँमा राम्रै उत्पादन हुन्छ ।

अहिले व्यवसायी बन्नुभएका प्रकाश खत्रीलाई कुन माटोमा कुन प्रजातिको तरकारी तथा फलफूल उत्पादन हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन । सामान्य किसानका रूपमा उनी आफैँ परीक्षण गर्छन, उत्पादन गर्छन र आफैं बेचबिखन गर्छन ।

खत्रीले सुरूआती दिनमा तरकारीले राम्रै फल दिएपछि दोस्रो वर्ष त्यसलाई बढाए । फलफूलका बिरुवाले पनि राम्रै फल दिएपछि त्यसलाई पनि थप्दै गए । आफूलाई खानलाई पर्याप्त हुँदै गएपछि बिक्री गरे ।

‘माटो परीक्षण गर्नका लागि जिल्ला कृषि विकास कार्यालयमातहतको कृषि ज्ञान केन्द्रले पनि परीक्षण नगरेर अन्य जिल्लामा पठाउने रहेछ’ उनले भने ‘अहिलेसम्म यो आसपासको माटो परीक्षण गरिएको छैन । जति फलफूल, तरकारी लगाएँ, मलबिनै पनि राम्रै उत्पादन भयो । यो अनुभवबाटै जुनसुकै प्रजातिका तरकारी तथा फलफूलसमेत उत्पादन हुने रहेछ ।’

सुतारीगाउँ मात्रै होइन । साविकका पाटादेवल तथा कालुखेती गाविसमा पनि पहिलो व्यावसायिकरूपमा तरकारी तथा फलफूल उत्पादन गर्ने कृषक खत्री नै हुन । दिउँसोको समय एउटा आधारभूत विद्यालयमा पढाएर साँझ–बिहानमात्रै बारीमा समय दिने खत्रीले सानो लगानीमा कृषि पेशा सुरु गरेका थिए । ‘परिवारलाई पुग्ने गरी उत्पादन हुने गरेको तरकारीले अहिले करिब दुई दर्जनभन्दा बढी गाउँलाई तरकारी खुवाइरहँदा निकै खुसी भएको छु’ उनले भने ।

अनुभवबाट नै व्यवसायी बन्नुभएका खत्रीले पछिल्लो समय जिल्लाकै ध्यान तालेका छन । उनले उत्पादन गरेको तरकारी र फलफूलले सरकारी तथा गैरसरकारी क्षेत्रका धेरै कर्मचारीले समेत स्वाद लिन पाएका छन ।

गोपाल तरकारी तथा फलफूल फार्मले छोटो समयमै लोभलाग्दो सफलता आर्जन गरेपछि जिल्लास्थित धेरै निकायले अनुदानस्वरुप आर्थिक सहयोग गर्दै आएका छन । खप्तडछान्ना गाउँपालिकाले सो फार्मलाई अनुदानवापत रु एक लाख सहयोग गरेको उनले बताए ।

कृषिमा उत्साहित बनाउने प्रधानमन्त्री कृषि आधुनिकीकरण ‘आलु जोन’ बझाङबाट पनि फार्म सञ्चालक खत्रीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्राप्त भएको थियो । आलु जोनले तरकारी सिँचाइका लागि पहिलोपटक रु एक लाख सिँचाइपोखरी निर्माण गर्नका लागि सहयोग गरेको उनले बताए । त्यो रकमसहित रु एक लाख थपेर खत्रीले सिँचाई पोखरी बनाए । दोस्रोपटक अनुगमनमा आउँदा पुनः आलु जोनले रु एक लाख अनुदान दिएपछि त्यो पैसाले उनले सिँचाइ नहर बनाएको बताए ।

गाउँपालिकाको कृषि शाखाबाट पनि सञ्चालक खत्रीले रु एक लाख अनुदान प्राप्त उनले सो रकमबाट टनेल बताए । अहिले तीन वर्षको अवधिमा गोपाल तरकारी तथा फलफूल फार्ममा रु ११ लाखको लगानी भइसकेको छ । रु पाँच लाख विभिन्न निकायबाट अनुदान र रु छ लाख सञ्चालक खत्रीको आफ्नै छ ।

खत्रीले सुरू गर्नुभएको तरकारी खेती व्यावसायिक भएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए । ‘जिल्लामा धेरैले तरकारी खेती गर्नुभएको छ, तर खत्रीजस्तो मेहेनती कृषक धेरै कम हुनुहुन्छ’ उनले भने । छान्ना क्षेत्रमै व्यावसायिकरूपमा पहिलो कृषकका रुपमा खत्रीलाई नै फेला पारेर भीमदत्त उत्कृष्ट कृषक पुरस्कारमा छनोट गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.