दार्चुलामा स्याउ खेती गर्ने किसानलाई बजारको चिन्ता

दार्चुला – गत वर्षको तुलनामा जिल्लामा स्याउको उत्पादन बढ्ने अनुमान गरिएको छ । तर, सदरमुकाम लगायत मुख्य बजार क्षेत्रमा भने आयातित स्याउको बिक्री भइरहेको छ । उत्पादन बढे पनि बजार नपाइने हो कि भन्ने चिन्तामा किसान छन ।

maya metro hospital

स्याउ खेतीको व्यवसायीकरण गर्न जिल्लाका व्यास, अपीहिमाल, नौगाड, मार्मा गाउँपालिकामा ठूलो क्षेत्रमा स्याउ लगाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभर २ सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । व्यास–१, २ र ३ मा व्यावसायिक रूपमा स्याउ उत्पादन भइरहेको गाउँपालिकाका कृषि शाखा संयोजक विशेश्वरप्रसाद बडूले बताए । ‘यसपालि स्याउको उत्पादन राम्रो भएको छ,’ उनले भने, ‘उत्पादन राम्रो भए पनि बजारको भने समस्या छ ।’

व्यास–३ सिनामा कृषि ज्ञान केन्द्र लगायतले स्याउ खेतीका लागि आर्थिक तथा प्राविधिक सहयोगसमेत गरेका छन । सिनाको पन्ताला, इजर, जारुकोटलगायत क्षेत्रको १० हेक्टरमा सामूहिक तथा व्यक्तिगत रुपमा स्याउ उत्पादन भइरहेको स्थानीय राजुसिह कुँवरले बताए ।

attariya hospital

अपीहिमाल–३ का रामसिह बोहराले पनि अघिल्ला वर्षको तुलनामा गाउँमा स्याउ उत्पादन राम्रो भएको जानकारी दिए । ‘हरेक बोटमा स्याउ लटरम्म फलेका छन्,’ उनले भने, ‘अब भाउ पाइने–नपाइने चिन्ता छ ।’

व्यवसायीका अनुसार सदरमुकाम खलङ्गामा भारतबाट आयात हुने स्याउ प्रतिकेजी २५० रुपैयाँमा बिक्री भइरहेको छ । तर, जिल्लामै उत्पादन हुने स्याउलाई सदरमुकामसम्म ल्याउन सडक सुविधा नहुँदा किसानलाई समस्या छ । ‘गाउँनजिक बजार छैन,’ किसान कपुरसिंह धामीले भने, ‘तर सडक सञ्जालले नजोडिँदा उत्पादित स्याउ खलंगा र अरु बजारमा लगेर बिक्री गर्न सकिने अवस्था छैन । यस्तै भए बोटमै कुहिने अवस्था पनि आउन सक्छ ।’

जिल्लाकै विकट व्यासको छाङरु र गागामा स्याउका हजारौं बिरुवा रोपिएको छ । राम्रो फल पनि लागेको छ । तर, उत्पादित स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो छैन । ‘हरेक वर्ष उत्पादन क्षेत्र बढ्दै गएको छ । उत्पादन पनि बढ्दो छ । तर, किसानले बजारसम्म ल्याउन भने सकिरहेका छैनन्,’ स्याउ जोन दार्चुलाका प्रमुख विष्णुप्रसाद ओझाले भने, ‘गाउँमा उत्पादन भएको स्याउलाई स्थानीय तहहरूले बजार प्रवर्द्धन गरिदिए किसानको आम्दानीमा उल्लेख्य सुधार आउने थियो ।’

जिल्लामा वार्षिक एक हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने गरेको छ । आर्थिक वर्ष ०७६÷७७ मा ९१० मेट्रिक टन र ०७७÷७८ मा १२१५ मेट्रिक टन स्याउ उत्पादन भएको ओझाले जानकारी दिए । गत वर्ष मात्र स्याउ जोन कार्यालयले ६ हजार ५ सय बोट स्याउका बिरुवा किसानलाई वितरण गरेको थियो ।

यसकारण पनि यो वर्ष उत्पादनमा वृद्धि हुने अनुमान गरिएको उनको भनाइ छ । यहाँ मौसम सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउको उत्पादन हुने गरेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.