धनगढी – बिहिबार डोटीमा गठबन्धन नगर्ने निर्णय गरिएको भोलीपट्ट डडेल्धुरामा पनि गठबन्धन नगर्ने निर्णय गरिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
पार्टी सचिव हेमराज चटौतले वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा समेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि एक्लै लड्ने निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार गठबन्धन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्दै डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्न दिन प्रदेश र केन्द्रीय कमिटीलाई अनुरोध समेत गरिएको छ ।
नेपाली कांग्रेस डडेल्धुराले एकल रुपमा अगामी चुनाव लड्ने भएकै कारणले प्रदेश र प्रतिनिधिसभामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरिएको जनाएको छ ।
प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र समानुपातिक (महिला) तर्फ देउवा पत्नी आरजु राणाको नाम सर्वसम्मत रुपले प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।
प्रदेशसभा ‘क’ बाट जिल्ला पार्टी सभापति एवंम् परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउद र प्रदेशसभा ‘ख’ बाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ ।