खाेज्नुहाेस

नाफा हुँदा पनि आयल निगमले मुल्य नघटाउने

Image

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ। निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरकारबाट लिएको ऋण र इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो।

navjiwan hospital

आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर नौ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए। निगमलाई मट्टितेल र हवाई इन्धनमा भने यसअघि नै नाफा रहेको छ।

attariya hospital

पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक रु एक अर्ब २७ करोड घाटा हुने निगमको प्रक्षेपण छ। सरकारसँग लिइएको ऋण, आइओसीलाई तिर्नुपर्ने बक्यौता तथा मासिक एक अर्ब बढी घाटा भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत नै राख्नुपरेको उनले बताए।

निगमले आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम अपुग भएपछि सरकारसँग सात अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट तीन अर्ब रुपैयाँ ऋण लिएको थियो। निगमले अझै आइओसीलाई २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। रासस