अत्तरिया – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
राजा पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गरेका थिए । विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ’, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचना लगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकको धारणा छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नातकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । उनको निधन १९२५ असोजमा भएको थियो ।
भानुभक्त जयन्तीको अवसरमा अत्तरिया पनि प्रभातफेरी कार्यक्रमको आयोजना गरिने भएको छ । अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले दिवसको अवसरमा प्रभातफेरी संगै पुस्तकालयको सभाहलमा रचना प्रस्तुति कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले भानुभक्त आचार्यको व्यक्तिक्त तथा नेपाली साहित्यमा आचार्यले पुगाएको योगदानका बिषयमा विविध कविता, गीत तथा लेख, रचना प्रस्तुत गरिने बताए ।


















