सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको एक साताभित्र देशभर फैलिएर बर्खा लागिसक्छ । तर, यो वर्ष औसतभन्दा नौ दिनअघि नै पूर्वी नेपालबाट मनसुन भित्रिए पनि गण्डकी प्रदेशभन्दा पश्चिममा विस्तार हुन सकेको छैन । बरु पश्चिम तराईमा दिल्लीको तातो हावाको प्रभावसँगै तापक्रम बढ्दा जनजीवन प्रभावित बनेको छ ।

‘मनसुन औसतभन्दा अगाडि नै प्रवेश गरे पनि कमजोर अवस्थामा थियो, एक साता पूर्वी भेगमै केन्द्रित रह्यो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘पछिल्ला दिनमा मनसुन केही सक्रिय बनेको छ । तर, पश्चिम नेपालमा पश्चिमी वायु कायमै छ, त्यहाँ पुग्न सकेको छैन ।’

महाशाखाले आगामी २४ घन्टामा प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनीका थोरै स्थानमा वर्षा हुन सक्ने आकलन गरेको छ । अन्य प्रदेशमा भने पहाडी भूभागका एक–दुई स्थानमा मात्र वर्षाको सम्भावना छ । बर्खाका चार महिनामा नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्छ, जुन वार्षिक वर्षाको ८०.५ प्रतिशत हो ।
बिहीबार धनगढीको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस रह्यो भने न्यूनतम तापक्रम २६.२ डिग्री थियो । त्यसपछि नेपालगन्जको तापक्रम क्रमशः अधिकतम र न्यूनतम ३८.४ र २३.८ डिग्री थियो ।ती क्षेत्रमा अधिकतम तापक्रम पनि घटेको छैन । न्यूनतम र अधिकतम तापक्रमको ग्याप कम छ, जसकारण बिहानैदेखि गर्मी महसुस हुने गरेको छ । मौसमविद् पौडेलका अनुसार पश्चिम तराईमा अधिकतम तापक्रम नघट्नुको मुख्य कारण मनसुनी गतिविधि सुरु नहुनु हो ।


















