खाेज्नुहाेस

जनताले भोज अरु पार्टीको खाएपनि भोट हलोलाई दिन्छन : दुर्गा पोखरेल

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मेयर पदका लागि राष्ट्रिय प्रजातन्त्र (राप्रपा) बाट दुर्गा कुमार पोखरेलले उम्मेदवारी दिएका छन । राप्रपाले यस पटकको चुनावमा गोदावरीका ११ वटा वडाबाट चुनाव लड्दै छ ।

अघिल्लो चुनावमा गोदावरीमा राप्रपा कमजोर शक्तिका रुपमा देखिएको भएपनि यस पटक भने राप्रपाले मेयरमा जित्ने दाबी नै गदै आएको छ । यसै बिषयमा रहेर अत्तरिया अनलाइनले राप्रपाबाट गोदावरी नगरको मेयर पदका उम्मेदवार पोखरेल संग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

attariya hospital

चुनाव प्रचार प्रसारमा कतिको व्यस्त हुनुहुन्छ ?

म अहिले एकदमै व्यस्त छु ।

गोदावरीमा तपाइको उम्मेदवारी के का लागि ?

समग्रमा मेरो उम्मेदवारी भ्रष्टाचारको अन्त्यका लागि हो । किनभने हामीले यहाँ जति पनि देख्यौ भ्रष्टाचारकै कारणले विकास निर्माणका काम देखि लिएर सामाजिक कामहरु हुन सकिरहेको छैन । यो अवस्थामा म पेशाले शिक्षक भएपनि शिक्षित वर्गहरु राजनीतिमा आएनन् भने धमिलो धुन नसकिने रहेछ । त्यो कारणले गर्दा म रहरले भन्दा पनि बाद्यताले सामाजिक विसंगतीको अन्त्य गर्नको लागि  राजनीतिमा आएको हुँ ।

तपाईको पार्टीको चुनाव चिन्ह परिवर्तनले केही फरक पार्छ ?

त्यस्तो फरक नपार्ला किनभने प्रचार प्रसार व्यापक भइसकेको छ । प्रचारप्रसार नभएको भए अलि फरक पार्थ्यो होला । अहिले गाउँघरसम्म, हरेक स्थानमा घरदैलोको माद्यमबाट चुनाव चिन्हका बारेमा जानकारी दिइसकेका छौ । त्यसैले यसले खासै फरक नपर्ला ।

तपाईको चुनाव जित्ने मुख्य आधार चाही के हो ?

म व्यक्तिगत रुपमा भन्नुपर्दा पनि म अन्य उम्मेदवार भन्दा युवा र जोशिलो छु । शिक्षित पनि छु । अन्य पार्टीका सरकार यहाँ आएपनि  केही पनि भिन्नता भएन । विकास निर्माणका काम देखि लिएर सामाजिक सदभाव, सामाजिक मेलमिलापका काम, शिक्षामा खासै कुनै प्रगती भएन । म आफै सैक्षिक क्षेत्रबाट आएकोले मेरो मुख्य फोकस शिक्षा क्षेत्रमा पनि छ ।

navjiwan hospital

कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ४ हजार र स्नातक पढ्ने विद्यार्थीलाई ५ हजार छात्रवृतिका रुपमा उपलब्ध गराउने योजना छ । म लामो समय देखि शिक्षण पेशामा छु त्यसैले मेरो व्यक्तिगत भोट पनि धेरै आउँन्छ । त्यसकारण पनि म जित्छु जस्तो लागेको छ । किनभने मेरो उद्देश्य सहि छ । म भ्रष्टाचारको अन्त्य गर्नको लागि आएको छु । सडकमा गाइहरु छाडा छोडिएको छ । जसका कारण दुर्घटना हुने, कृषि उत्पादन खाइदिने समस्या छ । त्यसको लागि पनि हामीहरुले २ हजार क्षमताको गौशाला निर्माण गर्ने भनेका छौ । यसलाई प्रमुख प्राथमिकता दिने मेरो योजना छन ।

म स्थानीय विद्यार्थी, कृषक देखि लिएर धार्मीक क्षेत्रबाट पनि सम्बन्धित भएको हुनाले म जित्छु जस्तो लाग्छ ।

भ्रष्टाचार, बेरोजगारी र छाडा पशुचौपायाको व्यवस्थापन कसरी गर्ने कस्तो योजना छ ?

भ्रष्टाचार न्यूनिकरणका लागि प्रशासनिक सुधार नै आवश्यक पर्छ । यसका लागि नगर कार्यपालिकाबाट विनियम बनाउन मिल्छ । अन्य भ्रष्टाचार रोक्नका लागि के– के कुरामा कमि कमजोरी रहेको छ । नगरपालिका भित्र त्यसलाई अध्ययन गरेर त्यसै किसिमको नियम बनाएर काम गर्नेछु । चुहावट धेरै भएकै कारण विकास हुन नसकेको हो ।

त्यस्तै छाडा पशुचौपाया नियन्त्रणका लागि भ्रष्टाचार हुन बाट बचेको रकम सदुपयोग गर्न सकिन्छ ।

त्यस्तै रोजगारी दिनको लागि बिभिन्न सिपमुलक तालिम दिन सकिन्छ । हाम्रो यस क्षेत्रमा धेरै शिक्षित बेरोजगार पनि छन । हामीले यस क्षेत्रकै श्रोत साधनलाई सदुपयोग गरेर, सिप सिकाएर रोजगार दिन सकिन्छ ।

ठूला पार्टीका बिच यस क्षेत्रमा उदाउदै गरेको पार्टीलाई जितका लागि कत्तिको सहज छ ?

अब जनता सचेत भइसकेका छन । अब जति पनि राजनीतिक दलहरु छन । यी दलले राष्ट्रघाती काम गरेका छन । यस्ता दलले भोलिका दिनमा देश नै लिलाम गर्न सक्छन । अब जनतालाई आफ्नो अस्तित्व चाहिने की नचाहिने । यदी आफ्नो अस्तित्व चाहिन्छ भने वहाहरुले मलाई समर्थन गर्नुहुन्छ । जनताले फेरी पनि दासत्व स्विकार गर्न चाहनुहुन्छ, चर्को कर स्विकार गर्नुहुन्छ, महङ्गाई स्विकार गर्नुहुन्छ, तिव्र गतिमा विकास भएको देख्न चाहनु हुन्न, सामाजिक सदभाव भएको हेर्न चाहनु हुन्न, जे चल्छ चल्छ भन्नुहुन्छ भने मलाई नै भोट दिनुस भन्दैन । वहाँहरुको इच्छाको कुरा हो ।

मैले घरदैलोमा भोट माग्दा पनि यही भन्ने गरेको छु । अब सबै शिक्षित भइसक्नु भएको छ । अब पार्टीहरुले के गरे भन्ने कुरा धेरैले थाहा पाएका छन । अब यी ठूला पार्टीहरुले पैसा बाडेर, भोज खुवाएर जती मानिस जम्मा गरेपनि जनताले अब पैसा लिनुहुन्छ, भोज पनि खानुहुन्छ तर, भोटचाँही हलोलाई नै हाल्नुहुन्छ । किनभने अब परिवर्तन गर्ने पार्टी भनेको राप्रपा मात्रै हो ।

राप्रपाले धर्मको मुद्धा उठाएको छ । राप्रपाले संस्कृतिको कुरा गरेको छ । राप्रपाले १ देखि १२ सम्म निशुल्क शिक्षाको कुरा गरेको छ । घरमै पुगेर स्वास्थ्य सेवा दिने कुरा गरेको छ । पर्यावरण संरक्षण सम्बन्धि कुरा गरेको छ । अब देशले परिवर्तन मागेको छ । अब यो समयमा परिवर्तन गर्न सक्ने पार्टी भनेको राप्रपा हो ।

भिडियो