खाेज्नुहाेस

मेयरमा महिलाको दाबी न्यून

Image

अत्तरिया – बैसाख ३० गते हुने स्थानीय तहको चुनावका लागि बिभिन्न पदहरुमा उम्मेदवारी दाबी गर्ने क्रम जारी छ । मुख्यगरी मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष र वडा अध्यक्षमा पार्टीगत र स्वतन्त्र उम्मेदवारी दिनेहरुको तछाडमछाड छ ।

अहिले एउटै पार्टीबाट पनि धेरै जनाले मेयर/अध्यक्ष, उपमेयर÷उपाध्यक्ष र वडा अध्यक्षमा दावी गरिरहेका छन । सोही क्रममा कैलालीको गोदावरी नगरपालिकाबाट पनि मुख्य ठूला दलबाट दर्जनौको संख्यामा दाबी पेश भएका छन । यसरी बिभिन्न पदहरुमा आ–आफ्नो दावी गर्ने क्रम बढेपनि स्थानीय तहको मुख्य पद मानीने मेयर/अध्यक्ष पदमा भने महिलाको दाबी यसपटक पनि न्यून देखिएको छ ।

attariya hospital

अघिल्लो स्थानीय तहको चुनावमा गोदावरी नगरपालिकाबाट मेयर पदका लागि १० वटा दलले आफ्ना उम्मेदवार उठाएका थिए । जसमा ८ जना पुरुष रहेका थिए । मधेसी जनाधिकारी फोरम नेपालबाट सारदा कुमारी साउँद र नेपाल दलित पार्टीबाट कमला देवी सुनारले मात्रै मेयर पदमा लडेकी थिईन् । साना दलहरुबाट मेयर पदमा महिला उम्मेदवार उठाइएको भएपनि ठूला दलहरुबाट भने कसैले पनि मेयर पदमा महिलालाई उठाएनन् ।

संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपने भनेपनि प्रमुखमा पुरष र उपप्रमुखमा महिला उठाउने प्रवृति यसपटक पनि दोहरीने सम्भावना बढेको छ ।

गोदावरीमा अघिल्लो स्थानीय तहको चुनामा मेयर जितेको नेकपा एमालले यस पटक पनि मेयर पदका लागि आकांक्षीको नाम जिल्लामा पठाएको छ । तर, त्यसमा एक जना पनि महिलाले मेयर पदका लागि आकांक्षा देखाएका छैनन् । मेयरमा एमालेबाट हरी सिह साउँद, गोकर्ण भट्ट, नन्द भट्ट, आनन्द भट्ट, गणेश जिमी साउँद, नरेन्द्र शर्मा, दामोदर रिजाल, तिर्थ ओझा, बाजी कामीले दावी पेस गरेका छन । उपमेयरमा भने ३ जना महिला सारदा रोकाया, रत्ना कुँवर, गंगा चौधरीले आकांक्षा देखाएका छन ।

अघिल्लो चुनावमा दोस्रो बनेको नेपाली कांग्रेस नगर समितिले अझै आकांक्षीको नाम लिन सुरु नगरेको भएपनि कांग्रेसबाट पनि महिला मेयरमा दावी आउने सम्भावना न्यून छ । यसअघिको चुनावमा मेयरमा कांग्रेसबाट मेयरमा पराजीत बिरेन्द्र भट्टको प्रवल दाबेदारी रहदाँ उममेयरमा पराजित भगवती पाठकले भने यस पटक पनि उपमेयरमै लड्ने सोच बनाएकी छिन । अत्तरिया अनलाइन संग कुरा गर्दै नेतृ पाठकले महिला उपमेयरमा लड्ने मानसिकता नै बसेको बताईन् ।

navjiwan hospital

‘इच्छ्या भएपनि बिभिन्न बाध्यताका कारण उपमेयरमै उठ्ने सोच बनाएकी छु’ उनले भनीन ‘अहिले पनि सबैजसो पार्टीले महिलाहरुलाई उप नै दिएका छन । महिलाहरुले इच्छ्या राखेपनि टिकट नपाइने समस्याका कारण उपमै सिमित हुनु परेको छ ।’ उनले पितृसत्तात्मक सोच र महिलाहरुले सक्दैनन् भन्ने मानसिकताका कारण महिला उपमेयरमा सिमित भइरहेको बताईन् ।

यद्दपी कांग्रेसबाट मेयर उपमेयरमा दाबी पेश गर्न सुरु गरिएको छैन । कांग्रेस गोदावरी नगरका प्रवक्ता अशोक राज देवकोटाले मंगलबार सम्म दाबेदारी पेश गर्न समय सिमा तोकिएको बताए ।

एमालेबाट बिभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीलेबाट भने मेयरमा महिलाको दाबी परेको छ । एमालेबाट उपमेयरमा बिजयी भएर समाजवादी रोजेकी रत्ना कडायत समाजवादीबाट मेयरको दाबेदार बनेकी छिन ।

उनले उपमेयरको अनुभव आफूसंग भएकाले मेयरमा आफ्नो प्रवल दाबेदारी रहेको बताएकी छिन । यद्दपी सामाजवादीबाट उनीसंगै टेक विक, खम्म बुढा, भीम बोगटी, विजय बिक, लक्ष्मण कुँवरले पनि मेयरमा दावी पेस गरेका छन । सामाजवादीबाट उपमेयरमा भने शकुन्तला शोबको एकल दाबी परेको छ ।

नेकपा माओवादी केन्द्रबाट पनि मेयरमा महिलाको दाबी परेको छैन । मेयर पदका लागि ४ जनाले दाबी गरेका भएपनि सबै पुरुष छन । माओवादीको नगर कमिटीले दिएको जानकारी अनुसार मेयर पदमा बिक्रम बिक, उद्धब भट्टराई, मेखराज भट्ट र धर्म सिह कुँवरको दावी परेको छ । माओवादीबाट उपमेयरमा कमला कैनीको नाम सिफारिस गरिएको छ ।

८८ स्थानीय तह रहेको सुदूरपश्चिममा अघिल्लो चुनावमा २ पालिकामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका थिए । स्थानीय चुनावमा ४० प्रतिशत महिला निर्वाचित भएपनि मुख्य पदमा भने २ प्रतिशत मात्रै महिलाले नेतृत्व गरेका थिए ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा कैलालीका १३ वटै स्थानीय तहमा महिला उपप्रमुख निर्वाचित भएपनि कुनै पनि स्थानीय तहमा महिला प्रमुख बनेका थिएनन् । यो तथ्यांक हेर्दा अघिल्लोचोटिको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूले महिलालाई जानाजान उपप्रमुखको हैसियतमा मात्र राख्न चाहेको देखिन्छ ।

यद्दपी २०७४ को चुनावमा कैलालीमा बिजयी भएका पुरुष मेयर/अध्यक्ष भन्दा पनि उपमेयर/उपाध्यक्षमा विजयी भएका महिलाहरुले बढी मत पाएका थिए । मेयर/अध्यक्ष पदमा विजयी १३ वटै मेयर/अध्यक्षले कुल ७९ हजार ६२७ मत पाउँदा उपमेयर/उपाध्यक्ष पदमा विजयी उपमेयर/उपाध्यक्षले ८३ हजार ४४२ मत पाएका थिए । कैलालीका १० पालिकामा उपमेयर÷उपाध्यक्षमा विजयी महिलाले मेयर/अध्यक्ष भन्दा बढी मत ल्याएका थिए ।