खाेज्नुहाेस

बझाङमा एकल उम्मेदवार घोषणा गर्दै सत्तारुढ दलहरु

Image

बझाङ – सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने गरी भएको निर्णय बझाङ जिल्लामा कार्यान्वयन नहुने अवस्था देखिएको छ । गठबन्धन दलहरुबीच सिट बाँडफाँडमा कुरा नमिलेपछि गठबन्धनको सम्भावना कम हुँदै गएको नेताहरुले बताउँन थालेका छन् ।

यसैबीच नेकपा माओवादी केन्द्रले बुङगल नगरपालिका र दुर्गाथली गाउँपालिकामा एकल उम्मेदवारी घोषणा गरेको छ । केन्द्रले बुङगल नगरपालिकाको प्रमुखमा हरिबहादुर कुँवर र उपप्रमुखमा छायाँ सिंहलाई उठाउने निर्णय गरेको माओवादी केन्द्रका बुङगल नगरपालिका इन्चार्ज अस्मित सिंहले जानकारी दिए । कुँवर २०७४ सालको निर्वाचनमा पनि नगरप्रमुखको लागि चुनाव लडेका थिए भने सिंह पूर्व माओवादी लडाकु हुन् ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

यस्तै माओवादी केन्द्रले दुर्गाथली गाउँपालिकाको अध्यक्षमा पनि दिलबहादुर थापालाई उठाउने पक्का भएको नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सचिवसमेत रहेका संविधान सभा सदस्य जनकबहादुर बुढाले बताए । थापा यसअघिको निर्वाचनमा नेकपा एमाले सँग पराजित भएका थिए । उनी पूर्व लडाकु कमान्डर पनि हुन् ।

‘गठबन्धन भंगै भइसक्यो भनेर घोषणा त भइसकेको छैन,’ उनले भने, ‘तर गठबन्धनको सम्भावना अब कोमामा गइसक्यो । अरु पालिकामा पनि एक्लै निर्वाचन लड्ने गरी उम्मेदवार छनोटमा लागि सकेका छौ,’ उनले माओवादीको जनाधार बलियो भएका ठाउँमा समाजवादीले दाबी गरेको र गठबन्धन संयन्त्रको नेतृत्व गरेको कांग्रेसले ठोस पहल नगरेका कारण गठबन्धन नहुने सम्भावना बलियो बन्दै गएको बताए ।
सत्ता गठबन्धनको अर्काे घटक नेकपा एसले पनि एकल उम्मेदवार छनोटको लागि गृहकार्य थालेको छ । उम्मेदवार छनोट भइसके पछि पनि गठबन्धनको प्रयास भने जारी रहने एसका प्रदेश कमिटी सदस्य कलक धामीले बताए । ‘हामीले उम्मेदवार छनोट गरिसके पछि पनि गठबन्धनको प्रयास त जारी नै रहन्छ । अहिले नै गठबन्धनको सम्भावना सकियो भनेर भन्नु हतार हुनेछ’ उनले भने ।

माओवादी र समाजवादीले छविस पाथीभेरा गाउँपालिका नछोड्ने बताएपछि गठबन्धनमा सकस देखिएको नेताहरुले बताएका छन । यस गाउँपालिकामा एमालेको तर्फबाट निर्वाचित अध्यक्ष अक्कल बहादुर धामी र उपाध्यक्ष राधिका रताला अहिले नेकपा एसमा खुलेका छन् । धामी प्रदेश कमिटी सदस्य र रताला एसको जिल्ला सचिवालय सदस्य रहेका छन् । यद्यपि माओवादी केन्द्रले छविसमा आफ्नो जनाधार बलियो रहेको र धामी र रतालाले निर्वाचन आयोगमा नेकपा एसमा सनाखत नगरेको कारण देखाउदै उक्त पालिका आफुले पाउनु पर्ने अडान राखेको छ ।

यता नेपाली काङ्ग्रेसले पनि गठबन्धनको सम्भावना कम रहेको बताएको छ । ‘गठबन्धन हुने नहुने सम्भावना आधा आधा छ’ नेपाली काङ्ग्रेसका जिल्ला सचिव उत्तम रोकायाले भने, ‘गठबन्धनको लागि हामी निरन्तर छलफलमै छौं तर हाम्रै पार्टीभित्रका आकांक्षीहरु मिलाउन पनि सकस भइरहेको छ ।’ उनले सकेसम्म गठबन्धन गर्ने र नमिले एक्लाएक्लै निर्वाचनमा जाने गरी उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढेको बताए ।