रमेश बहादुर सिह/बझाङ – ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा बझाङमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन । मंगलबार परेको दिवसका अवसरमा जयपृथ्वी नगरपालिकाले सभा–सम्मेलन एवं डेउडा प्रतियोगिता र माध्यमिक बिधालय स्तरिय ब्यक्तित्व कला पनि गरेको थियो । तर उक्त महिला दिवशको कार्यक्रमले मजदुरी गरेर परिवार पालने महिलालाई भने छुन सकेन ।
मंगलबार महिला दिवसको अवसरमा जिल्लाका विभिन्न पालिकाहरुले ठुल्ठुला कार्यक्रमहरु आयोजना गरेपनि त्यसको प्रभाव पहाडी क्षेत्रमा बसोबास गर्ने र मजदुरी गर्ने महिलाहरुमा परेन ।



दिवसकै दिन महिलाहरु कोही रोडमा दाउरा बोकेर होटलहरु चहारिरहेको देखिए भने कोहि दरमुकाम चैनपुर नजिकै रहेको बाउलि खोला किनारमा गिट्टि कुटिरहेका देखिए । उनीहरुलाई बजारमा आयोजित कार्यक्रमको औचित्य देखिएन । कार्यक्रममा गए साँझको छाक कसरी टार्ने भन्ने पिरमा उनीहरु देखिए ।
चैनपुरमा डेरी गरी बस्ने २४ वर्षीया सिता चौधरी दिवसको अवसरमा आयोजित कार्यक्रममा गईनन् । उनी सदाझै मजदूरी गर्नमै व्यस्त थिईन ।
उनले महिला दिवसको चर्चा सुनेपनि आफूलाई भने हर्ष न विस्मात भएको बताइन् । ‘दिनभरी मजदूरी नगरी साँझ डेरामा चुलो बल्दैन, दिवसमा बिदा छ भनेर के गर्ने’ उनले भनिन् ‘दिवसमा हकहित र महिलामाथिको विभेदका नारा गुञ्जिए पनि हामी गरिबीको रेखामुनी रहेकालाई सधैँ उस्तै हो ।’
उनले किताबका पानामा लेखेर मात्रै गरिव र दुखि महिलालाई दिवसले नछुने बताईन् ।
परिवार पाल्न कै लागि मजदुरी गरीरहेकी रिता नेपालीले आफुहरु जस्तो गरिब महिलाहरुका लागि दिवस नभएको बताईन् । ‘हामी जस्ताका लागि हैन यो महिला दिवस’ उनले भनीन ‘जो हुने खाने, राजनीति गर्न सहरमा बसेका महिला छन, त्यस्ताका लागि हो दिवस ।’
यी त उदाहरण मात्र हुन । गाउँ घरका हरेक महिलाहरुलाई महिला दिवसको बारेमा जानकारी छैन । महिलाका अधिकार बोल्ने यस्ता दिवसहरुलाई शहरमुखी मात्रै नबनाउनुपर्ने उनीहरुको गुनासो छ ।
















