बझाङ – बझाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्यांकनमा केदारस्युँ गाउँपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ पहिलो नम्बरमा देखिएको हो ।
प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा बढी ७३.६ प्रतिशत अंक पाएको छ । सुर्मा ६९.९३, छविस पाथिभेरा ६९.११, दुर्गाथली ६८.४७, थलारा ६६.८८, तलकोट ६५.७४, साइपाल ६५.४९ र बुंगल नगरपालिकाले ६१.९३ अंक पाएका छन ।


यसैगरी मष्टा गाउँपलिका ५६.६८, जयपृथ्वी नगरपालिका ५६.४९, खप्तडछान्ना गाउँपालिका ५६.१० र वित्थडचिर गाउँपालिकाले ४२.७५ अंक पाएका बताइएको छ ।

जिल्लामा सबैभन्दा कम वित्थडचिर गाउँपालिकाले ४२.७५ अंक पाएको छ । यही मूल्यांकनका आधारमा आयोगले आव २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ ।
आयोगले कार्यसम्पादन सूचक मूल्यांकनबाट प्राप्त अंक र तथ्यांक सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांकसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो ।
स्थानीय तहले गरेका विकास निर्माणका कामका साथै प्रशासन सञ्चालन तथा सुशासनजस्ता विभिन्न विषयको प्रभावकारिताका आधारमा उनीहरुलाई अंक दिने गरिन्छ ।
रासस
















