बझाङ – जयपृथ्वी नगरपालिकाका प्रारम्भिक बाल विकास सहजकर्ता (इसिडी शिक्षक) र विद्यालयका सहयोगी र लेखापालका लागि नगरपालिकाले थप रकम विनियोजन गरेको छ । नगरपालिकामा ४४ इसिडी शिक्षकसहित ५५ जना विद्यालय सहयोगी र सात जना लेखापालका गरी ११२ जनाका लागी ४९ लाख २० हजार रुपैयाँ बजेट समेत विनियोजन गरेको हो ।

नगरपालिकाले यही फागुन १ देखि पाउने गरी खाइपाइ आएको ८ हजारमा ७ हजार रुपैयाँ थप गरी इसिडी शिक्षक‚ विद्यालय सहयोगी र लेखापाललाई अनुदान स्वरुप दिन लागेको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताए । नगर कार्यपालिकाको बैठक र हिउँदे अधिवेशनले उनीहरूलाई संघीय सरकारले उपलब्ध गराएको रुपैयाँमा थप ८ हजार रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।


वडा नम्बर १ कैलाशस्थित बेताल सामुदायिक विद्यालयमा लामो समयदेखि पढाउँदै आएकी इसिडी शिक्षक ज्वाला शाहीले अरु शिक्षकजस्तै आफू दिनभर पढाउँदै आए पनि महिनाको ८ हजार रुपैयाँ मात्रै पाउने गरेको बताइन् । नगरपालिकाले फागुन १ देखि लागु हुने गरी सात हजार रुपैयाँ थप गर्ने निर्णय गरेपछि आफू खुसी रहेको उनले बताइन् ।
संघीय सरकारले निर्धारण तलब सुविधा पाउनुपर्ने माग गर्दै बालविकास सहजकर्ता शिक्षक, विद्यालयका सहयोगी, लेखापालले बेलाबेलामा आन्दोलन समेत गर्दै आएका थिए ।















