बझाङ – हिमपातका कारण बझाङ जनजीवन कष्टकर बनेको छ । करिब ५ वर्षपछि सदरमुकाम चैनपुरमा पनि हिमपात भएको छ ।
साइपाल गाउँपालिकामा चार फिटसम्म हिमपात भएको छ । हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसोले वृद्धवृद्धा, बालबालिका तथा रोगीहरूलाई असहज भएको छ । हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाई बनाएको छ । बझाङमा यो वर्ष हालसम्म तेस्रो पटक हिमपात भएको हो ।

बिहीवारदेखि परेको हिउँ जयपृथ्वी राजमार्गमा जमेको छ । जसका कारण यातायात सेवा पूर्ण रुपमा बन्द छन् । अनारखोली, खोडपे, श्रीभावर, ढोल्यामोड, वित्थडचिर गाउँपालिका क्षेत्रमा परेको हिउँले जयपृथ्वी राजमार्ग अवरुद भएको हो।


अन्य जिल्लाबाट आएका यात्रुहरु बिहीबार दिउँसोदेखि राजमार्गमा अलपत्र परेका छन् । राजमार्ग खुलाउन स्थानीय तहसँग समन्वय गर्न खोजेको र नेटवर्कको समस्याले समन्वय गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए ।
चिसो अत्यधिक बढेकाले अनावश्यक चिसोमा हिँड्डुल नगर्न समेत जिल्ला प्रशासन कार्यालय बझाङले अनुरोध गरेको छ ।













