बझाङ – कोरोना सर्न सक्ने भन्दै जिल्ला कारागार बझाङमाका कैदीबन्दी भेटघाट बन्द गरिएको छ ।
भेटघाटको क्रममा कैदीबन्दीलाई कोरोना सर्न सक्ने भन्दै प्रशासनले कैदीबन्दीलाई भेट्न रोक लगाएको हो । कोरोनाको पहिलो लहरमा सबै दुईजना कैदीबन्दी संक्रमित भएका थिए ।


भेटघाटका क्रममा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने जोखिम उच्च रहेकाले अर्काे सुचना जारी नभएसम्मको लागि तत्काललाई भेटघाट बन्द गरिएको बझाङ कारागार प्रमुख धन बहादुर घर्तीले बताए ।

नयाँ भेरियन्ट पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा प्रतिबन्ध लगाउँदै आफन्तलाई गेटबाट फर्काउने गरेको उनको भनाइ छ । जिल्ला अदालत बझाङले सजाय वा पुर्पक्षमा पठाउने कैदीबन्दीलाई कोरोना परीक्षण अनिवार्य गरिएको जनाएको छ ।
झन्डै तीन गुणा बढी कैदीबन्दी
जिल्ला कारागार बझाङमा अहिले ७९ जना कैदीबन्दी छन । २५ जना राख्न सक्ने क्षमता रहे पनि झन्डै तिन गुणा बढी कैदीबन्दी राखिएको छ । पुरुष ७५ जना रहेको कारागारमा महिलाहरू बस्नको लागि भने भवन नभएकाले अन्य जिल्ला पठाउने गरेको घर्तीले बताए ।
कारागारमा रहेका कैदीबन्दीमध्ये ७९ जनाले पहिलो चरणको, कोरोनाविरुद्धको दोस्रो चरणको खोप ५९ जनाले र ४७ जनाले तेस्रो चरणको खोप लगाइसकेको जिल्ला कारागार बझाङमा कार्यरत अहेव अनिल नेपालीले बताए ।













