बझाङ – चिसो बढेपछि बझाङमा दाउरा बितरण गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिकाका विभिन्न स्थानमा डिभिजन वन कार्यालय बझाङ, जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला प्रहरी कार्यालय बझाङले स्थानीयलाई दाउरा वितरण गरेको हो ।
चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि डिभिजन वन कार्यालयले सदरमुकाम चैनपुरको लोकतान्त्रिक चौक, अदालत अगाडि, सिमखेत सहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको छ ।



सोमबार र मंगलबार ती क्षेत्रहरूमा डिभिजन वन कार्यालयले संकलन गरेका दाउराहरू वितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख कर्णबहादुर खातीले बताए । नगरका विभिन्न बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गरी वितरण गरिएको खातीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले चिसोबाट बच्नेको लागि केही राहत होस् भनेर सदरमुकाम क्षेत्रका चोकचोकमा प्रहरीले दाउरा वितरण गरेको बताए ।













