बझाङ – खाद्यान्न ढुवानी नहुँदा बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ ।
गाउँपालिकाको वडा नं. ५ न्युनामा खाद्यान्न अभाव देखिएको हो । ढुवानी नभएर खाद्यान्न अभाव हुँदा ३४ घर परिवार भोकमरीको चपेटामा परेका छन ।


स्थानियहरुले चामलका लागी दुई महिना अघि नै रुपैया बुझाए पनि खाद्यान्न पाउन नसकेको स्थानिय उमेश बोहराले बताए । उनका अनुसार धोज बोहरा, डबल बोहरा, मनविर बोहरालगायत गाउँका बासिन्दाले दुई महिनाअघि चामलका लागि ४ लाख ६० हजार रुपैयाँ बुझाएका हुन । चामल ढुवानीका लागि जिम्मा लिएका राजन कुँवर र जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष दलबहादुर विष्ट भने अहिलेसम्म सम्पर्कमा नआएको उनले बताए ।

उब्जनी नहुने यस क्षेत्रका बासिन्दाहरु हरेक वर्ष भोकमरीको समस्या भोग्दै आएका छन । यस क्षेत्रका स्थानीयहरूको मुख्य आम्दानीको स्रोत जडिबुटी, भेडापालन, यार्चागुम्बा भए पनि पछिल्लो समय वन नासिँदै गएपछि जडिबुटी र भेडापालन व्यवसाय लोप हुँदै गएको छ ।
न्युना जानेबाटोमा हिउँ परेका कारण ढुवानी गर्न खच्चड नपाइएकाले खाद्यान्न ढुवानी गर्न समस्या भएको गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।
‘चामल ढुवानीका लागि गाउँपालिकाले पेस्की समेत दिइसकेको छ’ उनले भने ‘पहिला बाढीपहिरोले गर्दा सदरमुकाम चैनपुरमा समेत चामल ल्याउन ढिलाइ भयो । अहिले बाटोमा हिउँ परेकाले चामल ढुवानी गर्न समस्या भयो । खाद्य संस्थान र जिल्ला प्रशासन कार्यालयमा गाउँपालिकाबाट पत्र पठाएका छौं ।’
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आफू भर्खरै जिल्लामा आएकाले त्यो बारेमा थाहा नभएको र जिल्ला प्रशासन कार्यालयमा भएको कार्यालय प्रमुखहरुसँगको भेटघाट तथा छलफलमा उक्त कुरा उठेकाले खाद्य संस्थानसँग ढुवानीका लागि कुरा बुझेर पहल गर्ने बताए ।
साईपाल गाउँपालिका वडानम्बर ५ की वडा सचिव सुम्निमा गिरीले भने खाद्य संस्थानसँग हिमपातले भेडा, खच्चडबाट खाद्यान्न ढुवानी गर्न समस्या भएपछि बैकल्पिक बाटोबाट तथा हेलिकोप्टर बाट खाद्यान्न ढुवानी गर्न व्यवस्था गर्नका लागि पत्र पठाएको बताइन् ।













