बझाङ – बझाङको जयपृथ्वी नगरपालिका भित्रका १३ वटा विद्यालयहरूका छात्राहरूलाई निःशुल्क पुन: प्रयोग गर्न मिल्ने सेनेटरि प्याड वितरण गरिएको छ ।
किशोरीहरूको शैक्षिक गुणस्तर उकास्न र किशोरीहरूलाई नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले हियर नेपालद्वारा सञ्चालित किशोरी तथा महिला परियोजना अन्तर्गत नगरपालिकाका १३ वटा सामुदायिक विद्यालयहरूलाई सेनेटरी प्याड वितरण गरेको हो ।

नगरमा रहेका ९ आधारभूत विद्यालय र ४ वटा माध्यमिक विद्यालयहरूमा सेनेटरी प्याड वितरण गरिएको हो । जसमा बालमन्दिर आधारभूत विद्यालयमा ४८, देवस्थली अधारभुत विद्यालयमा १६ बाल विकास माविमा ५१, धौलदेउ आधारभूत विद्यालयमा ३, सुर्मा आधारभूत विद्यालयमा २०, नमुना आधारभूत विद्यालयमा १३, पाण्डु माविमा ७९, बाल विकास आधारतभुत विद्यालयमा ७, नारायण माविमा ७५, भैरव आधारभूत विद्यालयमा १०, लुयाटा आधारभूत विद्यालयमा २२, शिशु आधारभूत विद्यालयमा २१ र निलखट्टी माविमा २७ जना महिनावारी हुने किशोरीहरूलाई प्रति किशोरी ५ पिसको एउटा प्याकेट सेनेटरी प्याड वितरण गरिएको हियर नेपालकी नर्स स्टाफ पार्वती ऐडीले बताए ।
उनले भने ‘महिनावारी हुने किशोरी तथा छात्रा मात्र नभएर उनीहरूका आमाहरूलाई पनि गाउँमै गएर सेनेटरी प्याड वितरण गरिएको छ । जसमा ३ सय ९२ जना महिनावारी हुने किशोरीहरूका साथै किशोरीका आमाहरूलाई पनि उक्त प्याड वितरणका साथै प्याड प्रयोग गर्ने तरिका समेत सिकाएका छौ ।’
विद्यालयमा नै सेनेटरी प्याड वितरण गरिएपछि किशोरीहरूलाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन । जयपृथ्वी नगरपालिकाका १३ विद्यालयमा करिब अध्ययन गर्ने किशोरीहरू ६ सय २७ जना किशोरीहरू रहेकोमा ३ सय ९२ जना महिनावारी हुने किशोरीहरू रहेका छन् ।

विद्यालयमा सेनेटरी प्याड वितरण गरेपछि आफूहरूलाई विद्यालयमा आउनमा सजिलो भएको नारायण मावि पिमीमा अध्ययनरत किशोरी आरती सिंहले बताए । उनले भने, ‘सेनेटरी प्याड नहुँदा टेबुलमा बस्न अप्ठ्यारो हुने, रगत बग्ने भएका कारण विद्यालयमा आउन लाज लाग्थ्यो । बीच कक्षामै घर जानु पर्ने बाध्यता थियो । अहिले सेनेटरी प्याड पाएपछी रगत सेनेटरी प्याडमै रोकिने भएकाले पुरै कक्षा पढ्न पाएका छौ ।’ सिंहका अनुसार यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै विद्यालय छुटेको छैन । विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफू जस्तै किशोरीलाई सजिलो भएको उनको भनाइ छ ।
संस्थाले विद्यालयहरूमा महिनावारी हुने किशोरीहरूलाई र उनका आमाहरूलाई सेनेटरी प्याड वितरण गरेको छ । अन्य विद्यालयमा अध्ययन गर्ने तथा महिनावारी नहुने किशोरी र तिनका आमा, र किशोरहरूलाई पनि किशोर अवस्थामा हुने परिवर्तनका विषयमा १ दिने कक्षा पनि दिएको र किशोर किशोरी सम्बन्धी किताबहरू पनि वितरण गरिएको संस्थाका जिल्ला संयोजक नारायण प्रसाद जोशीले बताए ।
महिनावारीको समयमा विद्यालय जाँदा विमला सिंहको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । संस्थाले विद्यालयमा प्याड वितरण गरेपछि प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको उनले बताए । विद्यालय समयमा महिनावारी भए पनि बीचैमा कक्षा छोडेर जानुपर्ने समस्यासमेत हटेको उनले बताए ।
उनले भने, ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुँदा कति पल्ट आफू बसेको बेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महसुस हुन्थ्यो । अहिले फेर्नलाई झन्झट हटेको छ ।’ विद्यालयमा प्याड वितरण सुरु भएपछि विद्यालय आउने किशोरीहरूको संख्या बढेको नारायण माविका शिक्षक दिनेश शाहीले बताए ।
उनले भने ‘अहिले पढाइमा कुनै वाधा पुगेको छैन । अहिले विद्यालय ढुक्क साथ आउन सकिने अवस्था छ ।’ संस्थाले विद्यालयमा किशोरीहरूलाई प्याड वितरण तथा किशोरकिशोरहिरुलाई किशोरावस्थाको बारेमा कक्षा दिएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति बढेको छ भने उनीहरूको शैक्षिक स्थिति पनि सुधार हुने अपेक्षा गरिएको समेत शाहीले बताए ।
साथै अभिभावकहरुले उक्त कक्षाले किशोरकिशोरीहरुको व्यवहारमा समेत परिवर्तन भएको बताएका छन् । संस्थाले निःशुल्क वितरण गरेका सेनेटरी प्याडहरू २ बर्ष भन्दा बढी समय सम्म प्रयोग गर्न मिल्ने संस्थाले जानकारी दिएको छ । संस्थाले सबै गरी ६ सय २७ किशोर, ४ सय २३ जना किशोरी र ४४ जना शिक्षक गरी जम्मा १ हजार ९९ जनालाई किशोर किशोरी सम्बन्धी कक्षा दिएको छ । (रेडियो नेपालबाट)














